विश्वभरका नेपालीलाई जोड्न अमेरिकामा खुल्यो ‘हामी नेपाली अन्तर्राष्ट्रिय’
- १३ फाल्गुन २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- विश्वभर छरिएर रहेका नेपालीलाई एकजुट बनाउने उद्देश्यले अमेरिकाको न्युयोर्कमा ‘हामी नेपाली अन्तर्राष्ट्रिय’ नामक संस्था स्थापना भएको छ। मुनाफा वितरण नगर्ने संस्थाको रूपमा दर्ता भएको यस संस्थाले ‘नेपाल र नेपालीका लागि हामी नेपाली’ भन्ने नारा तय गरेको छ।
संस्थाको अध्यक्षमा नवराज केसी छन् भने भावी अध्यक्षमा मोहन वाइवा चयन भएका छन्। महासचिवमा सूर्य सिम्खडा र कोषाध्यक्षमा डा. राम खड्का छन्। त्यस्तै उपाध्यक्षको जिम्मेवारी इन्दिरा त्रिपाठी, वसन्ती राई, जनक भण्डारी र बृहस्पति लामाले पाएका छन्। संस्थामा कानुनी सल्लाहकारसहित अन्तर्राष्ट्रिय स्तरका महिला, सञ्चार र युवा संयोजक लगायत क्यानडा र दुबई लगायतका देशका प्रतिनिधि समेटेर कार्यसमिति बनाइएको छ।
संस्थाको सल्लाहकार समितिमा नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डिलिसी लगायतका व्यक्तिहरु रहेका छन्। संस्थाका अध्यक्ष नवराज केसीले संसारभर रहेका नेपालीलाई जोड्न यो संस्था खोलिएको बताए। उनले छिट्टै अमेरिका बाहिरका अन्य देशमा पनि संस्थाको शाखा विस्तार गर्ने जानकारी दिए।