संसदमा ट्रम्पको सम्बोधन : अर्थतन्त्र ‘स्वर्णिम युग’मा पुगेको दाबी
- १३ फाल्गुन २०८२
- १ मिनेटको पढाई
न्युयोर्क – राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार राति संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै अमेरिका स्वर्णिम युगमा प्रवेश गरेको दाबी गरे। झन्डै दुई घण्टा लामो सम्बोधनका क्रममा उनले अमेरिकी अर्थतन्त्र पहिलेभन्दा धेरै बलियो र समृद्ध भएको बताए।
सर्वोच्च अदालतले विपक्षमा फैसला गरे पनि ट्रम्पले विदेशी सामानमा लगाइएको भन्सार शुल्क नहटाउने अडान लिए। उनले बालबालिकाका लागि विशेष खाता खोल्ने र ज्यालादारी मजदुरले पाउने बक्सिसमा कर छुट दिने आफ्ना नीतिको प्रशंसा गरे। तर, विभिन्न सर्वेक्षणले भने अधिकांश नागरिक अर्थतन्त्र र ट्रम्पको समग्र कामप्रति सन्तुष्ट नरहेको देखाएका छन्।
सम्बोधनका क्रममा आप्रवासीलाई देश निकाला गर्ने विषय उठेपछि विपक्षी सांसदहरुले कडा विरोध जनाए। ट्रम्पले सीमा बन्द गर्ने कदमको बचाउ गर्दै सरकारको पहिलो दायित्व आफ्ना नागरिकको सुरक्षा गर्नु रहेको बताएपछि विपक्षी सांसदहरु इल्हान ओमार र रशिदा तलाइबले बीचमै उठेर विरोध गरे। उनीहरुले आप्रवासी धरपकडका क्रममा दुई अमेरिकी नागरिक मारिएको भन्दै ट्रम्पको कडा आलोचना गरे।
विदेशी नीतिका विषयमा बोल्दै उनले इरानलाई कुनै पनि हालतमा परमाणु हतियार बनाउन नदिने चेतावनी दिए। सम्बोधनपछि प्रतिक्रिया दिँदै विपक्षी सांसदहरुले ट्रम्पले महँगी र नागरिकका वास्तविक समस्यालाई बेवास्ता गरेको आरोप लगाए। उनीहरुले यौन दुर्व्यवहारमा दोषी ठहरिएका जेफ्री एप्स्टिनसँग सम्बन्धित सम्पूर्ण विवरण सरकारले अझै लुकाइरहेको भन्दै आलोचना पनि गरे।