२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

हिउँ पन्छाउने कामदारको परिचयपत्रबारे ट्रम्पले गरे न्युयोर्कका नगरप्रमुखको आलोचना

हिउँ पन्छाउने कामदारको परिचयपत्रबारे ट्रम्पले गरे न्युयोर्कका नगरप्रमुखको आलोचना

न्युयोर्क- राष्ट्रपति डोनाल्ड ट्रम्पले संसदलाई सम्बोधन गर्ने क्रममा न्युयोर्क सहरका नगरप्रमुख जोहरान माम्दानीको आलोचना गरेका छन्। ट्रम्पले हिउँ पन्छाउने कामदारका लागि कडा परिचयपत्र माग्ने तर मतदानका लागि परिचयपत्र नचाहिने भन्दै डेमोक्रेटिक पार्टीको नीतिको विरोध गरे।

सम्बोधनमा ट्रम्पले माम्दानीलाई ‘कम्युनिस्ट नीति’ अपनाउने तर राम्रो मान्छे भने। उनले भने, “न्युयोर्कका नगरप्रमुखले हिउँ पन्छाउने कामदारका लागि दुईवटा परिचयपत्र र सामाजिक सुरक्षा कार्ड माग्छन्, तर अमेरिकामा मतदान गर्न भने परिचयपत्र चाहिँदैन भन्छन्।”

न्युयोर्क सहरले हालै आएको भारी हिमपातपछि हिउँ पन्छाउन कामदार माग गरेको थियो। यस कामका लागि १८ वर्ष पूरा भएको, अमेरिकामा काम गर्न योग्य रहेको र भारी काम गर्न सक्ने हुनुपर्छ। दर्ता गर्न दुईवटा सक्कली परिचयपत्र र सामाजिक सुरक्षा कार्ड अनिवार्य गरिएको छ।

हिमपातपछि न्युयोर्कका चारवटा क्षेत्रमा हिउँ पन्छाउने काम राम्रोसँग भए पनि स्टेटन आइल्यान्डमा भने समस्या देखिएको छ। त्यहाँ दुई फिटभन्दा बढी हिउँ परेको थियो। बाटो नखुल्दै नगरप्रमुख माम्दानीले विद्यालय खुलाएको भन्दै त्यहाँका स्थानीय नेताहरूले असन्तुष्टि जनाएका छन्।