उडिरहेको अमेरिकन एयरलाइन्सको विमानमा गोली प्रहार, पखेटामा प्वाल
- १५ फाल्गुन २०८२
- १ मिनेटको पढाई
न्युयोर्क – अमेरिकाको मियामीबाट कोलम्बियाको मेडेलिनका लागि उडेको अमेरिकन एयरलाइन्सको विमानमा गोली लागेको छ। अवतरणपछि बोइङ ७३७ म्याक्स–८ विमानको दाहिने पखेटामा प्वाल देखिएपछि यसलाई उडानबाट हटाइएको छ।
फेब्रुअरी २२ मा मेडेलिनमा अवतरण गरेपछि प्राविधिक टोलीले विमानको पखेटा नियन्त्रण गर्ने भागमा शंकास्पद प्वाल फेला पारेका थिए। जाँच गर्दा उक्त प्वालमा एकातिरबाट गोली पसेर अर्कोतिरबाट निस्किएको स्पष्ट देखिएको छ।
अमेरिकन एयरलाइन्सले उडानका क्रममा कुनै असामान्य अवस्था नदेखिएको र यात्रु तथा चालक दलका सदस्य पूर्ण रूपमा सुरक्षित रहेको बताएको छ। एयरलाइन्सले विज्ञप्ति निकाल्दै विस्तृत जाँच र मर्मतका लागि विमानलाई तत्काल सेवाबाट हटाएको जनाएको छ। अधिकारीहरूसँग मिलेर घटनाको अनुसन्धान भइरहेको एयरलाइन्सले स्पष्ट पारेको छ।
विमानलाई रातभर लगाएर अस्थायी मर्मत गरी मियामी हुँदै डालास पुर्याइएको छ। त्यसयता यसले कुनै व्यावसायिक उडान भरेको छैन। कोलम्बियाको उड्डयन प्राधिकरणले घटनाबारे जानकारी पाए पनि अमेरिकी अधिकारी वा एयरलाइन्सबाट औपचारिक पत्र नआएको बताएको छ।
यसअघि सन् २०२४ मा पनि अमेरिकाकै साउथवेस्ट एयरलाइन्सको जहाजमा उड्ने तयारी गर्दा गोली लागेको थियो। उड्डयन सुरक्षा निकायले यस घटनाको अनुसन्धान गरिरहेका छन्।