२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

न्युयोर्कका नगरप्रमुख र ट्रम्पबीच ह्वाइट हाउसमा अघोषित भेटवार्ता

न्युयोर्कका नगरप्रमुख र ट्रम्पबीच ह्वाइट हाउसमा अघोषित भेटवार्ता

वासिङ्टन- न्युयोर्कका नगरप्रमुख जोहरान माम्दानी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बिहीबार ह्वाइट हाउसमा अघोषित भेटवार्ता भएको छ। संसदमा ट्रम्पले माम्दानीको आलोचना गरेको दुई दिन नबित्दै उनीहरुबीच भेट भएको हो।

नगरप्रमुखका प्रेस सल्लाहकार जो क्याल्भेलोले संसदको सम्बोधनअघि नै यो भेट तय भएको बताए। उनका अनुसार न्युयोर्कमा नयाँ आवास निर्माण गर्ने विषयमा छलफल गर्न उनीहरुबीच कुराकानी भएको हो। यसअघिको भेटमा ट्रम्पले न्युयोर्कका लागि ठूला योजना ल्याउन आग्रह गरेका थिए। माम्दानीले १२ हजार एकाइ नयाँ आवास निर्माण गर्ने योजना ट्रम्पलाई सुनाए। यो ५० वर्षयताकै सबैभन्दा ठूलो संघीय लगानी हुने बताइएको छ।

माम्दानीले ट्रम्पसँगको भेट फलदायी भएको बताए। उनीहरुले राष्ट्रपतिको कार्यकक्षमा तस्बिर पनि खिचाए। ट्रम्प आवास योजनाप्रति निकै उत्साहित देखिएको क्याल्भेलोले जानकारी दिए।

भेटमा माम्दानीले अध्यागमन अधिकारीले पक्राउ गरेकी कोलम्बिया विश्वविद्यालयकी छात्रा एल्मिना अघायेभाको विषय पनि उठाए। भेटपछि ट्रम्पले फोन गरेर ती छात्रालाई रिहा गर्ने जानकारी दिएको माम्दानीले बताए। उनले पक्राउ परेका अन्य चार विद्यार्थीको कुरा पनि ट्रम्पसँग राखेका छन्।

मंगलबारको सम्बोधनमा ट्रम्पले माम्दानीलाई राम्रो मान्छे भन्दै हिउँ पन्छाउने कामदारको परिचयपत्रको नियमलाई लिएर आलोचना गरेका थिए। माम्दानीले भने आफ्नो कार्यक्रमको देशभर प्रचार गरिदिएको भन्दै ट्रम्पलाई धन्यवाद दिएका छन्। चुनावका बेला एकअर्काको कडा आलोचना गरे पनि नोभेम्बरमा ह्वाइट हाउसमा भएको भेटपछि उनीहरुबीच राम्रो सम्बन्ध देखिएको छ।