प्रहरीलाई हिउँको डल्लो हान्ने २७ वर्षीय युवक पक्राउ, नगरप्रमुखको भनाइ विवादमा
- १५ फाल्गुन २०८२
- १ मिनेटको पढाई
न्युयोर्क – वासिङ्टन स्क्वायर पार्कमा प्रहरीलाई हिउँको डल्लो हानेको आरोपमा २७ वर्षीय गुसमाने काउलिबाली पक्राउ परेका छन्। सोमबारको हिमपातपछि रमाइलो गर्न भेला भएकाहरूले गस्तीमा रहेका प्रहरीलाई ताकेरै हिउँको डल्लो हानेका थिए। अनुहारमा चोट लागेपछि केही प्रहरीको अस्पतालमा उपचार गरिएको थियो। पक्राउ परेका काउलिबालीलाई दुर्व्यवहार र सरकारी काममा अवरोध गरेको आरोप लगाइएको छ।
यस घटनामा न्युयोर्कका नगरप्रमुख जोहरान माम्दानीको भनाइ विवादमा परेको छ। सुरुमा उनले भिडिओ हेरेर ‘केटाकेटीले हिउँ खेलेको जस्तो देखिन्छ’ भनेका थिए। तर, २७ वर्षीय युवक पक्राउ परेपछि प्रहरी संगठन (पीबीए) ले ‘ती केटाकेटी होइनन्’ भन्दै कडा विरोध जनाएको छ। न्युयोर्क प्रहरी प्रमुख जेसिका टिसले पनि यो घटना लज्जास्पद भएको बताइन्।
आलोचना बढेपछि नगरप्रमुख माम्दानीले हिउँ खेल्ने क्रममा घटना नियन्त्रणबाहिर गएको बताए। उनले प्रहरी र अन्य कर्मचारीलाई सम्मान गर्नुपर्ने बताए पनि सहरमा हिउँ खेल्न प्रतिबन्ध भने नलगाउने स्पष्ट पारे।
न्युयोर्कमा एक दशकयताकै ठूलो हिमपात भएको छ। सेन्ट्रल पार्कमा १९ दशमलव ७ इन्च हिउँ जमेको छ, जुन इतिहासकै नवौँ ठूलो हिमपात हो।