२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

अमेरिकामा मान्यता प्राप्त शरणार्थीमाथि ट्रम्प प्रशासनको धरपकड

अमेरिकामा मान्यता प्राप्त शरणार्थीमाथि ट्रम्प प्रशासनको धरपकड

मिनेसोटा – अमेरिकाको ट्रम्प प्रशासनले कानुनी मान्यता पाएर बसिरहेका शरणार्थीहरूलाई पक्राउ गरी सोधपुछ गर्न थालेको छ। पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा भित्रिएका शरणार्थीहरूलाई प्रशासनले मुख्य निसाना बनाएको छ। हाल मिनेसोटा राज्यमा रहेका र स्थायी आवासीय अनुमति नपाइसकेका ५ हजार ६ सय शरणार्थी यसको मारमा परेका छन्।

आप्रवासन अधिकारीहरूले भेनेजुएला, म्यानमार र कंगोबाट आएका शरणार्थीहरूलाई पक्राउ गरेर केरकार गरिरहेका छन्। गत महिना सेन्ट पल सहरमा भेनेजुएलाकी एक महिला र उनकी आमालाई अधिकारीहरूले हतकडी लगाएर लगे। उनीहरूलाई टेक्सासको ह्युस्टन पुर्‍याएर देशनिकालाको कागजातमा हस्ताक्षर गर्न दबाब दिइएको पीडितले बताए। त्यसैगरी, कंगोकी एक महिलालाई काममा जाँदै गर्दा पक्राउ गरी ह्युस्टन पुर्‍याएर सोधपुछ गरियो। म्यानमारबाट आएका एक पादरीलाई पनि बोलाएर घण्टौँसम्म केरकार गरिएको छ।

यसैबीच, एक संघीय न्यायाधीशले जनवरीमा मिनेसोटाका शरणार्थीहरूलाई पक्राउ गर्ने काम तत्काल रोक्न र थुनामा रहेकालाई रिहा गर्न आदेश दिएका छन्। अमेरिकी नागरिकता तथा आप्रवासन सेवाका प्रवक्ता म्याथ्यु ट्रागेसरले अमेरिका आएको एक वर्षपछि शरणार्थीहरूको पूर्ण जाँच गर्नु कानुनी व्यवस्था मात्र भएको दाबी गरे।

तर, अधिकारकर्मीहरूले भने पहिले नै सबै जाँच पूरा गरेर आएकाहरूलाई फेरि पक्राउ गर्नु र धम्काउनु दशकौंदेखिको अभ्यासविपरीत भएको बताए। अहिले पक्राउ पर्ने र देशनिकाला हुने डरले शरणार्थीहरू काममा जान र घरबाहिर निस्कन डराइरहेका छन्।