२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

न्युयोर्कमा सात सन्तानका बाबुको हत्या गर्ने जमैकाका नागरिक अमेरिकाबाट देशनिकाला

न्युयोर्कमा सात सन्तानका बाबुको हत्या गर्ने जमैकाका नागरिक अमेरिकाबाट देशनिकाला

न्युयोर्क – अमेरिकाको अध्यागमन तथा भन्सार प्रवर्तन (आइस) ले न्युयोर्कमा हत्याको आरोपमा दोषी ठहरिएका जमैकाका नागरिक केमार ह्यामिल्टनलाई देशनिकाला गरेको छ। गैरकानुनी रूपमा अमेरिकामा बस्दै आएका उनलाई जनवरी ८ मा जमैका पठाइएको हो।

ह्यामिल्टनले १९ फेब्रुअरी २००९ मा ब्रंक्समा ५८ वर्षीय एडगर म्याककालाको हत्या गरेका थिए। म्याककाला पनि जमैकाकै आप्रवासी थिए र उनका सात सन्तान थिए। लुटपाटका क्रममा ह्यामिल्टनले उनलाई आफ्नै घरबाहिर गोली हानेर भागेका थिए।

घटनास्थलमा ह्यामिल्टनले एउटा मोबाइल फोन खसालेका थिए। सुरुमा उक्त फोनबाट कुनै डिएनए नमिले पनि दुई वर्षपछि ट्राफिक नियम उल्लंघन गर्दा प्रहरीले उनलाई रोकेको थियो। त्यसबेला उनको गाडीमा लोड गरिएको हतियार भेटियो। पछि अनुसन्धान गर्दा हत्याको समयमा भेटिएको फोन र उनको डिएनए मिलेपछि उनी सन् २०१२ मा पक्राउ परेका थिए।

आइसका उपनिर्देशक चार्ल्स वालले हत्याको गुत्थी सुल्झाउने स्थानीय प्रहरीको प्रशंसा गरे। उनले ह्यामिल्टन अमेरिकामा प्रवेश गर्नै नहुने व्यक्ति भएको बताए। अध्यागमन कानुनको पालना गर्दा अमेरिकी नागरिक र आप्रवासी समुदाय दुवै सुरक्षित हुने उनले दाबी गरे।

ह्यामिल्टन सन् २००८ मा लुकेर अमेरिका छिरेका थिए। सीमा सुरक्षा बलले उनलाई केही दिनमै पक्राउ गरेर अदालतमा उपस्थित हुने सर्तमा छाडेको थियो। तर अमेरिका छिरेको करिब एक वर्षपछि नै उनले म्याककालाको हत्या गरे।

उनी प्रहरीबाट लुकेर हिँडिरहेका बेला सन् २००९ डिसेम्बर २३ मा अध्यागमन अदालतले उनलाई देशनिकाला गर्ने आदेश दिएको थियो। न्युयोर्कको अदालतले उनलाई एक दशकभन्दा बढी जेल सजाय सुनाएको थियो। अक्टोबर ६, २०२५ मा जेलमुक्त भएलगत्तै आइसले उनलाई पक्राउ गरी अहिले देशनिकाला गरेको हो।