अमेरिकाको टेक्ससमा गोली चल्दा तीन जनाको ज्यान गयो, १४ घाइते
- १८ फाल्गुन २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाको टेक्सस राज्यको अस्टिन सहरमा आइतबार बिहान गोली चल्दा दुई जना सर्वसाधारणको ज्यान गएको छ। प्रहरीको जवाफी कारबाहीमा बन्दुक चलाउने व्यक्ति पनि मारिएका छन्। घटनामा १४ जना घाइते भएका छन्।
बिहान दुई बजे एउटा बार बाहिर यो घटना भएको हो। प्रहरीका अनुसार एउटा ठूलो गाडीमा आएका ती व्यक्तिले सुरुमा गाडी भित्रैबाट बाहिर बसेका मानिसलाई गोली हानेका थिए। त्यसपछि गाडी रोकेर बन्दुक बोकी बारतर्फ जाँदै गर्दा प्रहरीले उनलाई बाटोमै गोली हानेर मारेका हुन्। खबर पाएको एक मिनेट नबित्दै प्रहरीले कारबाही सुरु गरेकाले धेरै क्षति हुन पाएन।
मारिने व्यक्ति सेनेगलमा जन्मिएका अमेरिकी नागरिक एनडियागा डियान हुन्। उनले लगाएको कपडामा ‘अल्लाहको सम्पत्ति’ लेखिएको थियो। अमेरिकी संघीय अनुसन्धान ब्युरोले यसलाई आतङ्कवादी घटना हुन सक्ने भन्दै अनुसन्धान थालेको छ। उनको गाडी र शरीरमा भेटिएका प्रमाणले घटना आतङ्कवादसँग जोडिएको संकेत गरेको अधिकारीहरूले बताएका छन्।
घाइते १४ मध्ये तीन जनाको अवस्था गम्भीर छ। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। यो ठाउँ टेक्सस विश्वविद्यालयका विद्यार्थीहरू धेरै जाने ठाउँ हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यसबारे जानकारी गराइएको छ। त्यस्तै, टेक्ससका गभर्नर लगायतका नेताहरूले घटनाको विरोध गर्दै प्रहरीको कामको तारिफ गरेका छन्।