२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

पक्राउ पर्दाको भिडिओ सार्वजनिक गर्न रोक लगाउन गायक टिम्बरलेक अदालतमा

पक्राउ पर्दाको भिडिओ सार्वजनिक गर्न रोक लगाउन गायक टिम्बरलेक अदालतमा

न्युयोर्क- अमेरिकी पप गायक जस्टिन टिम्बरलेकले सन् २०२४ मा मादक पदार्थ सेवन गरी सवारी चलाएको आरोपमा पक्राउ पर्दाको भिडिओ सार्वजनिक गर्न रोक लगाउन माग गर्दै मुद्दा दायर गरेका छन्।

टिम्बरलेकका वकिलहरूले न्युयोर्कको स्याग हार्बर गाउँ र त्यहाँको प्रहरी विभागविरुद्ध सोमबार मुद्दा दर्ता गरेका हुन्। उक्त भिडिओ बाहिरिएमा टिम्बरलेकको गोपनीयता भङ्ग हुने र उनको प्रतिष्ठामा गम्भीर क्षति पुग्ने वकिलहरूको दाबी छ। भिडिओले उनलाई सार्वजनिक रूपमा हाँसोको पात्र बनाउने र दुःख दिने काम हुने उनीहरूले बताएका छन्।

भिडिओमा टिम्बरलेकको शारीरिक अवस्था, बोली, पक्राउ पर्दाको अवस्था र त्यसपछिका केही घण्टाका संवेदनशील दृश्यहरू कैद भएको मुद्दामा उल्लेख छ। यस विषयमा सुनुवाइ गर्दै न्यायाधीशले तत्काल कुनै आदेश दिएका छैनन्। उनले दुवै पक्षलाई छलफल गरेर निष्कर्षमा पुग्न भनेका छन्।

टिम्बरलेकले सन् २०२४ को सेप्टेम्बरमा मादक पदार्थ सेवन गरेर गाडी चलाएको कुरा अदालतमा स्वीकार गरेका थिए। प्रहरीका अनुसार उनले ट्राफिक नियम उल्लङ्घन गरेका थिए र उनको गाडीबाट रक्सीको गन्ध आएको थियो। उनले पक्राउ पर्दा आफूले एक पटक मात्र मदिरा पिएको दाबी गरेका थिए।

अदालतसँगको सम्झौतापछि उनलाई पाँच सय डलर जरिवाना, २५ घण्टा सामुदायिक सेवा र ९० दिनसम्म सवारी चालक अनुमतिपत्र निलम्बनको सजाय सुनाइएको थियो। यता, स्याग हार्बरका मेयरले भने कानुनअनुसार भिडिओ सार्वजनिक गरेर पारदर्शिता अपनाउन खोजेको बताएका छन्।