अमेरिका र बेलायतको सम्बन्ध पहिलेजस्तो नरहेको भन्दै ट्रम्प दुःखी
- १९ फाल्गुन २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र बेलायतबीचको सम्बन्ध पुरानो समयको जस्तो नभएको बताएका छन्। उनले दुई देशको सम्बन्धमा पहिलेको जस्तो आत्मीयता नदेखेको भन्दै दुःख व्यक्त गरे।
बेलायती पत्रिका ‘द सन’सँग कुरा गर्दै ट्रम्पले सम्बन्ध पहिलेजस्तो नहुँदा आफूलाई धेरै दुःख लागेको बताए। इरानविरुद्ध युद्ध सुरु गर्नुअघि अमेरिकाले बेलायतको साथ मागेको थियो। तर बेलायती प्रधानमन्त्री किर स्टार्मरले सुरुमा साथ दिन मानेनन्। बेलायतले सुरुमा अमेरिकालाई आफ्नो सैन्य शिविर प्रयोग गर्न पनि दिएको थिएन।
ट्रम्पले मध्यपूर्वको युद्धमा अमेरिकालाई बेलायतको आवश्यकता नभएको बताए। बेलायतले साथ नदिँदा खासै फरक नपर्ने तर स्टार्मरले सहयोग गर्नुपर्ने उनको भनाइ छ।
अहिलेसम्म युरोपेली देशलाई अमेरिकाको भरपर्दो साझेदार मानिन्थ्यो। त्यसमा पनि बेलायत सबैभन्दा अगाडि थियो। ट्रम्पले फ्रान्स लगायत सबै युरोपेली देश उत्कृष्ट भएको तर बेलायत सबैभन्दा असहयोगी देखिएको बताए। ट्रम्पको कर नीति, युक्रेन र नेटोप्रतिको कडा अडानले यो साझेदारी कमजोर बनेको देखिन्छ।