२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

प्रतिनिधिसभा चुनावअगाडि सुरक्षा बैठक, प्रधानमन्त्री कार्कीको कडा निर्देशन

प्रतिनिधिसभा चुनावअगाडि सुरक्षा बैठक, प्रधानमन्त्री कार्कीको कडा निर्देशन

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बुधबार सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ। बैठकमा देशको अहिलेको सुरक्षा अवस्था र बिहीबार हुने प्रतिनिधि सभा चुनावको तयारीबारे छलफल भयो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा चुनावको सुरक्षा व्यवस्था, मतदान केन्द्रको सुरक्षा र सरकारी निकायबीचको समन्वयबारे कुराकानी भयो। चुनावमा शान्ति सुरक्षा कायम गर्न र नागरिकको सुरक्षामा ध्यान दिन बैठकले जोड दिएको छ। यसका लागि सुरक्षा निकायबीचको समन्वय अझै बलियो बनाउने निर्णय पनि भएको छ।

बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, परराष्ट्रमन्त्री बालानन्द शर्मा, वनमन्त्री माधव चौलागाईं, प्रधानसेनापति अशोक सिग्देल र मुख्यसचिव सुमनराज अर्याल सहभागी थिए। प्रधानमन्त्री कार्कीले चुनावलाई सहज, निष्पक्ष र सुरक्षित बनाउने प्रतिबद्धता जनाइन्। उनले देशको सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताइन्।