निर्वाचन पर्यवेक्षकको प्रतिवेदन: ‘यसपालिको चुनाव औसतभन्दा केही राम्रो’
- २१ फाल्गुन २०८२
- १ मिनेटको पढाई
काठमाडौं- अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षक संस्था एसियन नेटवर्क फर फ्री इलेक्सन (एन्फरेल) ले नेपालमा सम्पन्न सन् २०२६ को प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र व्यवस्थित भएको जनाएको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै एन्फरेलले यसपटकको मतदान प्रक्रियालाई ‘औसतभन्दा थोरै राम्रो’ भनी टिप्पणी गरेको हो।
एन्फरेलले देशभरका ३०३ मतदान केन्द्रमा पुगेर गरेको अनुगमनका आधारमा तयार पारेको प्रारम्भिक प्रतिवेदनमा मतदाताको सक्रिय सहभागिताको प्रशंसा गरिएको छ। प्रतिवेदन अनुसार २२ प्रतिशत पर्यवेक्षकले निर्वाचन प्रक्रियालाई ‘धेरै राम्रो’, ३३ प्रतिशतले ‘राम्रो’ र ३९ प्रतिशतले सानातिना त्रुटिसहित ‘औसत’ भनेका छन्। बाँकी ६ प्रतिशतले भने प्रक्रिया कमजोर रहेको बताएका छन्।
पर्यवेक्षणका क्रममा ९४ प्रतिशत केन्द्रमा निर्वाचन सामग्री समयमै पुगेको पाइएको छ। ७२ प्रतिशत मतदाताले ५ मिनेटभित्रै मतदान गरिसकेको भए पनि ५६ प्रतिशत केन्द्रमा मात्रै तोकिएको समयमा मतदान सुरु भएको प्रतिवेदनमा उल्लेख छ।
एन्फरेलले मतदान केन्द्रहरू अपाङ्गतामैत्री नभएकोमा भने चिन्ता व्यक्त गरेको छ। जम्मा ३९ प्रतिशत केन्द्रमा मात्र र्याम्पको सुविधा रहेको र धेरै ठाउँमा ज्येष्ठ नागरिक तथा शारीरिक अशक्तता भएका व्यक्तिलाई मतदान गर्न कठिनाइ भएको पाइएको छ।
त्यस्तै, केही स्थानमा प्रयोग गरिएको ‘अमिट मसी’ सजिलै मेटिने खालको रहेको र मतदानको गोपनीयता कायम राख्न प्रयोग गरिएका बुथहरूको व्यवस्थापनमा कमजोरी देखिएको एन्फरेलले जनाएको छ। सुरक्षाकर्मीको उपस्थिति बाक्लो रहे पनि केही ठाउँमा पर्यवेक्षकहरूलाई प्रवेशमा रोक लगाइएको घटनाप्रति पनि संस्थाले ध्यानाकर्षण गराएको छ।
एन्फरेलले निर्वाचनको विस्तृत अन्तरिम प्रतिवेदन आगामी फागुन २४ गते सार्वजनिक गर्ने जानकारी दिएको छ।