निर्वाचन सम्पन्न भएकोमा भारतद्वारा बधाई, नयाँ सरकारसँग सहकार्य गर्न तयार
- २१ फाल्गुन २०८२
- १ मिनेटको पढाई
काठमाडौं – छिमेकी मुलुक भारतले नेपालमा प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै बधाई दिएको छ। भारतीय विदेश मन्त्रालयले बिहीबार साँझ एक सन्देश जारी गर्दै नेपाली नागरिकले उत्साहका साथ आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरेकोमा स्वागत गरेको हो।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले चुनौतीपूर्ण परिस्थितिका बाबजुद निर्वाचन गराउन सफल भएकोमा प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका छन्। उनले नेपालको शान्ति, प्रगति र स्थिरताका लागि भारत सधैँ प्रतिबद्ध रहेको उल्लेख गरे।
यस निर्वाचनका लागि नेपाल सरकारको अनुरोधमा भारतले आवश्यक रणनीतिक तथा भौतिक सामग्रीहरू उपलब्ध गराएको समेत प्रवक्ता जयसवालले जानकारी दिए। छिमेकीको नाताले नेपालको लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाउन भारतले निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि यो सहकार्य जारी रहने उनले स्पष्ट पारेका छन्।
भारतले निर्वाचनपछि गठन हुने नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न आफू इच्छुक रहेको जनाएको छ। दुई देश र जनताबीचको मजबुत सम्बन्धलाई थप उचाइमा पुर्याउन र पारस्परिक हितका लागि नयाँ नेतृत्वसँग सहकार्य गर्न आफूहरू प्रतीक्षामा रहेको भारतको भनाइ छ।