२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

ओली र बालेनको क्षेत्र झापा–५ मा ६५ प्रतिशत मतदान, एक लाख ६ हजार मत खस्यो

ओली र बालेनको क्षेत्र झापा–५ मा ६५ प्रतिशत मतदान, एक लाख ६ हजार मत खस्यो

काठमाडौं- प्रतिनिधि सभाको १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा ६५.११ प्रतिशत मतदान भएको छ। देशभर औसतमा ६० प्रतिशत मात्र मत खसेको अवस्थामा यस क्षेत्रमा भने मतदाताको उल्लेख्य सक्रियता देखिएको हो।

झापा–५ मा कुल एक लाख ६३ हजार मतदाता रहेकोमा एक लाख ६ हजारले मतदान गरेका छन्। यस क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहबीच मुख्य प्रतिस्पर्धा देखिएको छ। यी दुवै नेता आ–आफ्नो दलबाट भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका हुन्।

ओली आफ्नो किल्ला जोगाउन यसपटक आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित भएका थिए भने बालेन्द्र ओलीको गढ भत्काउने रणनीतिसहित झापा पुगेका थिए। बालेन्द्रले चुनावी प्रचारका क्रममा विभिन्न स्थानमा ‘रोड शो’ र सभाहरू गरेका थिए।

निर्वाचन आयोगका अनुसार झापाका पाँचवटै निर्वाचन क्षेत्रमा औसत ६४ प्रतिशत मत खसेको छ। जसमध्ये क्षेत्र नम्बर १ मा ६३.९५, क्षेत्र नम्बर २ मा ६५.२५, क्षेत्र नम्बर ३ मा ६२.७९ र क्षेत्र नम्बर ४ मा ६३.८५ प्रतिशत मतदान भएको छ। झापा–५ मा खसेको यो मतले अबको राजनीतिक दिशा कता मोडिने हो भन्ने कौतुहलता बढाएको छ।