२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

निर्वाचन सम्पन्न भएकोमा चीनद्वारा बधाई, नेपालको विकासमा सधैँ साथ दिने प्रतिबद्धता

निर्वाचन सम्पन्न भएकोमा चीनद्वारा बधाई, नेपालको विकासमा सधैँ साथ दिने प्रतिबद्धता

काठमाडौं – छिमेकी मुलुक चीनले नेपालमा प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएको छ। बिहीबार निर्वाचन सकिएलगत्तै नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले एक सन्देश जारी गर्दै खुसी व्यक्त गरेका हुन्।

राजदूत झाङले यस ऐतिहासिक अवसरमा नेपालको सुख, शान्ति र समृद्धिको कामना गरेका छन्। उनले निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन नेपाली अधिकारी र नागरिकहरूले गरेको प्रयासको उच्च मूल्यांकन समेत गरे।

राजदूत झाङले सामाजिक सञ्जालमा लेखेका छन्, “नेपालमा यति शान्तिपूर्ण, व्यवस्थित र सुचारु रूपमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएकोमा धेरै धेरै बधाई ! आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरेकोमा नेपाली जनतालाई हार्दिक शुभकामना !”

चिनियाँ राजदूतले नेपालको राजनीतिक स्थिरता र विकासको कामना गर्दै चीन सधैँ नेपालको साथमा रहने प्रतिबद्धता जनाएका छन्। “चीन सधैँ नेपालको पक्षमा उभिएको छ र आगामी दिनमा पनि नेपालको प्रगतिमा हाम्रो पूर्ण साथ रहनेछ,” उनले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।