२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी

रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी

काठमाडौं– रुकुम पूर्वको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार प्रचण्डले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ठुलो मतान्तरले हराउँदै जित हासिल गरेका हुन्।

पाँचकुने तारा चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका प्रचण्डले १० हजार २४० मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लिलामणी गौतमले ३ हजार ४६२ मत मात्रै पाए। प्रचण्डले गौतमलाई ६ हजार ७७८ मतको अन्तरले पछि पारेका हुन्।

त्यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार कुसुम देवी थापा ३ हजार ८१ मतसहित तेस्रो स्थानमा रहिन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लखन कुमार थापाले ८१९ मत प्राप्त गर्दै चौथो स्थानमा चित्त बुझाए। मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रचण्ड निर्वाचित भएको आधिकारिक घोषणा गर्दै उनलाई प्रमाणपत्र समेत प्रदान गरेको छ।