काठमाडौं–८ मा विराजभक्त विजयी, उपविजेता सायमीको जमानत जफत
- २२ फाल्गुन २०८२
- १ मिनेटको पढाई
काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ८ को प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ भारी मतले विजयी भएका छन्। यस क्षेत्रमा विराजभक्तले जित हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी सुमन सायमीसहित अन्य सबै उम्मेदवारको धरौटी जफत भएको छ।
अन्तिम मत परिणामअनुसार विराजभक्तले २४ हजार ५९२ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेकपाका सुमन सायमीले ३ हजार २१७ मत मात्रै पाए। निर्वाचन कानुनअनुसार जमानत जोगाउन कुल सदर मतको १० प्रतिशत ल्याउनुपर्ने हुन्छ। यस क्षेत्रमा ३६ हजार ४१३ मत सदर भएकोमा सायमीलाई धरौटी जोगाउन ३ हजार ६४२ मत आवश्यक थियो। तर, उनले १० प्रतिशत मत कटाउन नसकेपछि उनको जमानत जफत भएको हो।
विजेता विराजभक्त बाहेक चुनावी मैदानमा रहेका अरु कुनै पनि उम्मेदवारले १० प्रतिशत मत ल्याउन सकेनन्। निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा प्रतिस्पर्धा गरेका अन्य सबैको पनि धरौटी जफत भएको छ।