१६ वर्ष मुनिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने इन्डोनेसियाको तयारी
- २२ फाल्गुन २०८२
- १ मिनेटको पढाई
जकार्ता – इन्डोनेसिया सरकारले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने तयारी गरेको छ। अनलाइन पोर्नोग्राफी, साइबर बुलिङ, ठगी र इन्टरनेटको लत बढ्दै गएपछि बालबालिकालाई सुरक्षित राख्न यस्तो कदम चाल्न लागिएको हो।
सञ्चारमन्त्री मेउत्या हफिदले शुक्रबार दिएको जानकारीअनुसार युट्युब, टिकटक, फेसबुक, इन्स्टाग्राम, एक्स (ट्विटर) र रोब्लक्स जस्ता लोकप्रिय प्लेटफर्ममा १६ वर्ष मुनिका प्रयोगकर्ताका खाताहरू चरणबद्ध रूपमा बन्द गरिनेछ। यो नयाँ नियम २८ मार्च २०२६ देखि लागु हुनेछ।
मन्त्री हफिदले डिजिटल जोखिमबाट बालबालिकालाई बचाउन र अभिभावकलाई सहयोग गर्न यो निर्णय लिइएको बताएकी छन्। “डिजिटल आपतकालको यो समयमा बालबालिकाको भविष्य जोगाउन सरकारले यस्तो कदम चाल्नु आवश्यक छ,” उनले भनिन्।
यो प्रतिबन्ध पूर्ण रूपमा कार्यान्वयन नभएसम्म सबै डिजिटल प्लेटफर्महरूले तोकिएको मापदण्ड पालना गर्नुपर्नेछ। इन्डोनेसियाको यो कदम अस्ट्रेलियाको हालैको नीतिसँग मिल्दोजुल्दो छ, जहाँ १६ वर्ष मुनिकालाई सामाजिक सञ्जालमा रोक लगाइएको छ। यस्तै नियमका बारेमा युरोपेली सङ्घ र भारतले पनि अध्ययन गरिरहेका छन्।