निर्वाचन सम्पन्न भएकोमा भारतीय प्रधानमन्त्री मोदीको बधाई
- २३ फाल्गुन २०८२
- १ मिनेटको पढाई
काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै बधाई दिएका छन्। निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा उनले नेपाल सरकार र नेपाली नागरिकको प्रशंसा गरे।
नयाँ सरकार गठनको तयारी भइरहेका बेला सामाजिक सञ्जाल फेसबुकमार्फत मोदीले पठाएको सन्देशलाई कूटनीतिक क्षेत्रमा अर्थपूर्ण रूपमा हेरिएको छ। उनले नेपाली जनताले आफ्नो लोकतान्त्रिक अधिकारको सक्रिय प्रयोग गरेको भन्दै यसलाई नेपालको लोकतान्त्रिक यात्राको एउटा महत्त्वपूर्ण र स्मरणीय उपलब्धिको रूपमा चर्चा गरे।
भारत सधैँ नेपालको विश्वासिलो छिमेकी र मित्रका रूपमा साथ रहने प्रतिबद्धता पनि उनले जनाए। मोदीले आगामी नयाँ सरकारसँग सहकार्य गर्दै साझा शान्ति, विकास र समृद्धिका लक्ष्यहरू हासिल गर्न भारत तयार रहेको बताएका छन्।
पछिल्लो समय नेपाल र भारतबीच ऊर्जा व्यापार, भौतिक पूर्वाधार र कनेक्टिभिटीका क्षेत्रमा सहकार्य बढ्दै गएको छ। कूटनीतिक विश्लेषकहरूका अनुसार मोदीको यो बधाई सन्देशले नयाँ बन्ने सरकारसँगको सम्बन्धलाई थप सुदृढ बनाउने संकेत गरेको छ।