२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

इरानमाथिको आक्रमणविरुद्ध अमेरिकी सहरमा प्रदर्शन, युद्ध रोक्न माग

इरानमाथिको आक्रमणविरुद्ध अमेरिकी सहरमा प्रदर्शन, युद्ध रोक्न माग

न्युयोर्क — इरानमाथि अमेरिका र इजरायलले गरेको सैन्य आक्रमणको विरोधमा अमेरिकाका विभिन्न सहरहरूमा विशाल प्रदर्शन सुरु भएको छ। न्युयोर्कको म्यानहट्टनस्थित युनियन स्क्वायरमा भेला भएका हजारौँ प्रदर्शनकारीले ‘इरानमा युद्ध बन्द गर’ र ‘इरानबाट हात हटाऊ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीले अमेरिकी सरकारलाई तत्काल सैन्य कारबाही रोक्न र अन्तर्राष्ट्रिय समुदायलाई इजरायल तथा अमेरिकामाथि दबाब दिन आग्रह गरेका छन्। प्रदर्शनमा सहभागी एड्रिनाले यो द्वन्द्वले मानवीय र आर्थिक क्षति निम्त्याएको भन्दै चिन्ता व्यक्त गरिन्। फेब्रुअरी २८ देखि सुरु भएको यो आक्रमणले मध्यपूर्वमा हिंसाको नयाँ शृङ्खला सुरु गरेको छ।

संयुक्त राष्ट्रसंघका लागि इरानी राजदूत अमिर सईद इरावनीका अनुसार अमेरिका र इजरायलको हवाई आक्रमणमा अहिलेसम्म महिला र बालबालिकासहित १ हजार ३ सय ३२ इरानी नागरिकको मृत्यु भइसकेको छ। आक्रमणमा परी हजारौँ व्यक्ति घाइते भएका छन्। इरानले पनि इजरायल र यस क्षेत्रमा रहेका अमेरिकी सैन्य लक्ष्यहरूमाथि प्रतिशोधस्वरूप आक्रमण गरिरहेको छ।