२५ फाल्गुन २०८२, सोमवार
9 March 2026, Monday

हङकङमा एएनओको नयाँ कमिटी गठन, नेपाली पहिचान जोगाउने संकल्प

हङकङमा एएनओको नयाँ कमिटी गठन, नेपाली पहिचान जोगाउने संकल्प

हङकङ — नेपाली मूलका मानिसहरूलाई विश्वभर एउटै सूत्रमा बाँध्ने उद्देश्यका साथ एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) को हङकङ सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले युवा व्यवसायी विक्की थापाको अध्यक्षतामा नयाँ हङकङ कमिटी घोषणा गरेको छ।

हङकङकी डिस्ट्रिक काउन्सिलर अरुणा गुरुङ र एएनओका अन्तर्राष्ट्रिय महासचिव चूडामणि भट्टराईले शनिबार संयुक्त रूपमा सम्मेलनको उद्घाटन गरे। सम्मेलनले विश्वको जुनसुकै कुनामा रहे पनि नेपाली मूलको पहिचान कायम राख्ने र नेपाली जातिको शक्तिलाई नेपालको हितमा प्रयोग गर्ने प्रस्ताव पारित गरेको छ।

एएनओकी केन्द्रीय सदस्य खुसी गुरुङको सभापतित्वमा भएको कार्यक्रममा हाल मध्यपूर्वमा बढ्दै गएको सुरक्षा चुनौतीप्रति चिन्ता व्यक्त गरियो। सम्मेलनले त्यहाँ रहेका नेपालीहरूको सुरक्षामा विशेष ध्यान दिन नेपाल सरकारसँग माग समेत गरेको छ।

महासचिव भट्टराईले हङकङका नेपालीको गौरवपूर्ण इतिहास रहेको भन्दै नयाँ पुस्तालाई मातृभूमिसँग जोड्न यो अभियान महत्त्वपूर्ण हुने बताए। सन् २०२४ मा डिल्ली अधिकारीको नेतृत्वमा स्थापना भएको यस संस्थाले प्रवासमा रहेका नेपालीलाई भाषा, कला र संस्कृति पुस्तान्तरण गर्न मद्दत पुर्‍याउँदै आएको छ।