२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

फागुन २७ भित्र समानुपातिकतर्फको मतगणना सकिने

फागुन २७ भित्र समानुपातिकतर्फको मतगणना सकिने

काठमाडौँ — निर्वाचन आयोगले आगामी फागुन २७ गते बिहानसम्म समानुपातिक निर्वाचन प्रणालीतर्फको सबै मतगणना सम्पन्न गरिसक्ने लक्ष्य राखेको छ। आयोगका अनुसार सोमबार दिउँसोसम्म प्रत्यक्षतर्फको सबै १६५ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसक्नेछ।

हालसम्म प्रत्यक्षतर्फ १५५ क्षेत्रको नतिजा घोषणा भइसकेको छ भने बाँकी १० क्षेत्रमा मतगणना जारी छ। समानुपातिकतर्फ खसेको कुल १ करोड ९ लाख मतमध्ये हालसम्म करिब ५० लाख (४६ प्रतिशत) मतगणना सकिएको आयोगले जनाएको छ। पछिल्लो तथ्यांकअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब ५१ प्रतिशत मतसहित अग्रता कायम राखेको छ भने नेपाली कांग्रेस र नेकपा एमाले क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

समानुपातिकतर्फको गणना सकिएपछि थ्रेसहोल्ड कटाउने दलहरूले पाएको मतका आधारमा सिट संख्या निर्धारण गरिनेछ। दलहरूले बुझाएको बन्दसूचीबाट समावेशी क्लस्टरअनुसार नाम रुजु गरी सांसदहरूको अन्तिम नामावली प्रकाशन गरिने आयोगले बताएको छ। आयोगले आगामी चैत ५ गतेभित्र निर्वाचित सांसदहरूलाई प्रमाणपत्र उपलब्ध गराउने गरी सबै चुनावी प्रक्रिया सम्पन्न गर्ने कार्यतालिका बनाएको छ।