२५ फाल्गुन २०८२, सोमवार
9 March 2026, Monday

न्युयोर्कका मेयर मामदानीको निवास बाहिर विष्फोटक उपकरण फेला, ६ जना पक्राउ

न्युयोर्कका मेयर मामदानीको निवास बाहिर विष्फोटक उपकरण फेला, ६ जना पक्राउ

न्युयोर्क — न्युयोर्कका मेयर जोहरान मामदानीको सरकारी निवास ‘ग्रेसी म्यान्सन’ बाहिर शनिबार दुई समूहबीच झडप हुनुका साथै शंकास्पद विष्फोटक उपकरण फेला परेका छन्। घटनाको समयमा मेयर मामदानी र प्रथम महिला रामा दुवाजी निवासभित्रै रहे पनि उनीहरू सुरक्षित रहेको प्रहरीले जनाएको छ।

कन्जरभेटिभ इन्फ्लुएन्सर जेक ल्याङको नेतृत्वमा भएको ‘एन्टी-इस्लाम’ प्रदर्शन र त्यसको प्रतिवादमा उत्रिएको अर्को समूहबीच झडप भएपछि स्थिति तनावपूर्ण बनेको थियो। न्युयोर्क प्रहरी कमिश्नर जेसिका टिसका अनुसार घटनास्थलबाट ‘नट-बोल्ट र स्क्रु’ भरिएका र कालो टेपले बेरिएका दुईवटा शंकास्पद जार फेला परेका छन्। बम डिस्पोजल टोलीले यसबारे थप अनुसन्धान गरिरहेको छ।

प्रहरीले विष्फोटक उपकरण राखेको आरोपमा पेन्सिलभेनियाका १८ र १९ वर्षका दुई युवकसहित कुल ६ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा खुर्सानीको धुलो (पेप्पर स्प्रे) प्रहार गर्ने एकजना र ट्राफिक अवरोध गर्ने अन्य तीनजना रहेका छन्। मेयरका प्रवक्ताले यस घटनालाई मेयर र उनको परिवारले भोग्दै आएको सुरक्षा थ्रेटको एउटा गम्भीर उदाहरण भएको बताएका छन्। संघीय जाँच ब्युरोको ‘जोइन्ट टेररिज्म टास्क फोर्स’ ले पनि यस घटनाको अनुसन्धान सुरु गरेको छ।