इरानलाई रुसले सहयोग गरेको दाबीप्रति ट्रम्पको प्रतिक्रिया : ‘यसले खासै फरक पार्दैन’
- २४ फाल्गुन २०८२
- १ मिनेटको पढाई
मियामी — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा जारी युद्धका बीच रुसले इरानलाई अमेरिकी सैन्य ठेगानाहरू निसाना बनाउन खुफिया जानकारी (इन्टेलिजेन्स) दिएको भनिएको विषयलाई सामान्य रूपमा लिएका छन्। कुवेतमा भएको ड्रोन आक्रमणमा मारिएका ६ अमेरिकी सैनिकको शव बुझ्ने कार्यक्रममा सहभागी भएर मियामी फर्कने क्रममा ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन्।
रुसले इरानलाई सहयोग गरिरहेको समाचारहरूबारे सोधिएको प्रश्नमा ट्रम्पले भने, “पछिल्लो एक हप्तामा इरानको जे अवस्था भएको छ, त्यसलाई हेर्नुभयो भने उनीहरूले पाइरहेको जानकारीले खासै मद्दत गरेको देखिँदैन।” रुससँगको सम्बन्धमा यसले पार्ने असरबारे उनले थपे, “हामीले उनीहरूका विरुद्ध यस्तै गरिरहेका छौँ भनेर उनीहरूले पनि भन्न सक्छन् नि, होइन र?”
यसैबीच, ट्रम्प प्रशासनले भारतलाई रुसी कच्चा तेल खरिद गर्न एक महिनाका लागि अस्थायी अनुमति दिएको छ। विश्व बजारमा तेलको मूल्य आकाशिएपछि भारतलाई अप्रिल ४ सम्मका लागि यो छुट दिइएको हो। यद्यपि, अमेरिकाभित्रै यस निर्णयको तीव्र आलोचना भइरहेको छ। रिपब्लिकन र डेमोक्रेटिक दुवै पक्षका सांसदहरूले रुसलाई आर्थिक लाभ पुऱ्याउने यो कदमको विरोध गरेका छन्।
इरानसँगको युद्धका कारण ‘स्ट्रेट अफ हर्मोज’ बाट हुने तेल आपूर्ति ठप्प भएको छ, जसले गर्दा दैनिक २ करोड ब्यारेल तेलको ओसारपसार रोकिएको छ। तेलको मूल्य नियन्त्रण गर्न ट्रम्पले रणनीतिक पेट्रोलियम भण्डार (SPR) प्रयोग गर्ने संकेत भने तत्कालका लागि अस्वीकार गरेका छन्। उनले अमेरिकासँग पर्याप्त तेल रहेको भन्दै बजार छिट्टै सामान्य हुने दाबी गरे।