इरानसँगको युद्धमा खटिएका न्युयोर्कका प्रहरी अधिकृतको कुवेतमा मृत्यु
- २५ फाल्गुन २०८२
- १ मिनेटको पढाई
न्युयोर्क — इरानविरुद्धको सैन्य कारबाहीका क्रममा कुवेतमा खटिएका न्युयोर्कका एक प्रहरी अधिकृत सोर्फ्ली डभियसको मृत्यु भएको छ। न्युयोर्कको ७९ औँ प्रिसिन्टका प्रहरी डभियस ‘आर्मी नेसनल गार्ड’ मा मेजर पदमा कार्यरत थिए र उनी कुवेतको क्याम्प बुहरिङमा खटिएका थिए।
न्युयोर्ककी गभर्नर क्याथी होचुलले डभियसलाई एक ‘सच्चा नागरिक सैनिक’ र समर्पित पारिवारिक व्यक्तिको रूपमा स्मरण गरेकी छन्। सन् २०१४ देखि न्युयोर्क प्रहरीमा आबद्ध उनले यसअघि न्युयोर्कका महत्त्वपूर्ण स्थानहरूको सुरक्षा गर्ने ‘जोइन्ट टास्क फोर्स एम्पायर सिल्ड’ मा समेत विशिष्ट सेवा पुर्याएका थिए। न्युयोर्कका मेयर जोहरान मामदानी र प्रहरी कमिश्नर जेसिका टिसले पनि शनिबार एक संयुक्त विज्ञप्ति जारी गर्दै उनको त्याग र बलिदानको कदर गरेका छन्।
इरानमाथि अमेरिका र इजरायलले सुरु गरेको संयुक्त युद्धमा परी हालसम्म सातजना अमेरिकी सैनिकको मृत्यु भइसकेको छ। जसमध्ये ६ जनाको कुवेतमा र एकजनाको साउदी अरबमा भएको आक्रमणमा परी मृत्यु भएको अमेरिकी सेन्ट्रल कमान्डले पुष्टि गरेको छ। इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य आधार इलाकाहरूमा प्रतिशोधात्मक आक्रमण जारी राखेका कारण अमेरिकी सैनिकहरू जोखिममा परेका छन्।