२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

टर्कीमा रहेका अमेरिकी कर्मचारीलाई फिर्ता हुन निर्देशन, इरानद्वारा क्षेप्यास्त्र प्रहार

टर्कीमा रहेका अमेरिकी कर्मचारीलाई फिर्ता हुन निर्देशन, इरानद्वारा क्षेप्यास्त्र प्रहार

अंकारा — मध्यपूर्वमा जारी युद्धको प्रभाव टर्कीसम्म पुगेपछि अमेरिकाले त्यहाँ रहेका आफ्ना गैर-आकस्मिक सरकारी कर्मचारी र उनीहरूका परिवारलाई फिर्ता हुन आदेश दिएको छ। अंकारास्थित अमेरिकी दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै दक्षिणपूर्वी टर्कीको अदाना सहरमा रहेको वाणिज्य दूतावासका कर्मचारीहरूलाई सुरक्षा जोखिमका कारण तत्काल सो क्षेत्र छोड्न निर्देशन दिएको हो।

गत फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि सुरु गरेको सैन्य आक्रमणको बदलामा इरानले टर्कीमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई समेत लक्षित गर्न थालेपछि यो कदम चालिएको हो। विशेषगरी अदाना सहरबाट १० किलोमिटर मात्र टाढा रहेको ‘इन्सर्लिक हवाई अड्डा’ अमेरिकी र नेटो (NATO) सेनाको महत्त्वपूर्ण रणनीतिक केन्द्र हो। इरानले प्रहार गरेको एक ब्यालेस्टिक क्षेप्यास्त्रलाई बुधबार नेटोको प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट गरिदिएको टर्कीको रक्षा मन्त्रालयले पुष्टि गरेको छ।

स्पेनका रक्षामन्त्री मार्गरिटा रोबल्सका अनुसार इन्सर्लिकमा तैनाथ स्पेनी सैनिकहरूले प्रयोग गरिरहेको प्याट्रियट क्षेप्यास्त्र प्रणालीले उक्त इरानी आक्रमणको पहिचान गरेको थियो। यस क्षेत्रमा इरानले आक्रमण तीव्र पारेसँगै नेटोले आफ्नो ‘ब्यालेस्टिक मिसाइल प्रतिरक्षा प्रणाली’ लाई थप मजबुत बनाएको छ। अमेरिकाले आफ्ना नागरिकहरूलाई समेत टर्कीको दक्षिणपूर्वी क्षेत्र तत्काल छोड्न यात्रा सुझाव जारी गरेको छ।