११६ औँ अन्तर्राष्ट्रिय महिला दिवस न्यूयोर्कमा सम्पन्न
- २६ फाल्गुन २०८२
- २ मिनेटको पढाई
न्यूयोर्क- एनआरएनए एनसीसी यूएसए (NRNA NCC USA) को आयोजनामा न्यूयोर्कमा ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवस उत्साहका साथ सम्पन्न भएको छ। एन आर एन ए एन सी सी यु एस ए का अध्यक्ष सतेन्द्र साहको अध्यक्षता र नेपाल महावाणिज्य कार्यालय न्यु योर्कका महा वाणिज्य दूत श्री दधिराम भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रम को सञ्चालन एन आर एन ए एन सी सी यु एस ए की महिला सचिव तथा कार्यक्रम संयोजक लक्ष्मी थापा ले गर्नु भएको थियो। कार्यक्रममा नेपाली समुदायका अगुवा, समाजसेवी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य महिलाहरूको योगदानको सम्मान गर्दै समाजमा महिलाले भोगिरहेका चुनौतीहरूबारे छलफल गर्नु रहेको थियो।
कार्यक्रमको सुरुवात बकी कटुवाल को स्वागत मन्तव्यबाट भएको थियो। उहाँले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै महिला सशक्तीकरण र समाज निर्माणमा महिलाको भूमिकाबारे प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा आङ छिरिङ शेर्पा , सञ्जीव श्रेष्ठ, सोमनाथ घिमिरे, बासूँ लामिछाने, रेणु शर्मा, विष्णु माया परियार, खगेन्द्र जी सी, दीपक चौधरी, सोनाम घिसिङ, दधिराम भण्डारी र सतेन्द्र साह लगायतका वक्ताहरूले आफ्ना धारणा राखेका थिए।
वक्ताहरूले आफ्ना मन्तव्यमा महिला सशक्तीकरण, घरेलु हिंसा विरुद्धको आवाज, आप्रवासनसम्बन्धी समस्या, तथा महिलाहरूबिच एकता आवश्यक रहेको विषय मा विशेष जोड दिएका थिए। उनीहरूले समाजमा महिलालाई समान अवसर, शिक्षा, नेतृत्व र सुरक्षाको वातावरण उपलब्ध गराउनु अत्यन्त आवश्यक रहेको बताए।
त्यसै गरी विदेशमा बसोबास गर्ने नेपाली महिलाहरूले भोगिरहेका आप्रवासनसम्बन्धी चुनौतीहरू बारे पनि चर्चा गरिएको थियो। समुदायले महिलालाई कानुनी जानकारी, मार्गदर्शन र सहयोग प्रदान गर्नुपर्ने आवश्यकता वक्ताहरूले औँल्याएका थिए।
वक्ताहरूले महिलाहरूबिचको एकता, सहयोग र आपसी समर्थन नै महिला अधिकार र सम्मानका लागि महत्त्वपूर्ण रहेको बताए। साथै नेपाली समुदायले महिलाको आवाजलाई अझ सशक्त बनाउन निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमले अन्तर्राष्ट्रिय महिला दिवस को सन्देशलाई आत्मसात् गर्दै महिलाको सम्मान, समानता र अधिकारका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने सन्देश दिएको थियो।
-बेगम पण्डित ,न्यूयोर्क