नेपाली विद्यार्थीको पहिलो रोजाइमा जापान, व्यवस्थापन पढ्नेको संख्या उच्च
- २६ फाल्गुन २०८२
- १ मिनेटको पढाई
काठमाडौँ — उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीहरूको आकर्षण पछिल्लो समय जापानतर्फ बढ्दो देखिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्याङ्कअनुसार केही वर्षअघिसम्म अस्ट्रेलिया रोज्ने विद्यार्थीहरू अहिले जापानी भाषा र रोजगारीको सहजताका कारण जापानतर्फ आकर्षित भएका हुन्।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिक (साउन–असोज) सम्म कुल २८ हजार ५८५ विद्यार्थीले वैदेशिक अध्ययनका लागि पूर्वस्वीकृति पत्र (एनओसी) लिएका छन्। जसमा सबैभन्दा बढी ९ हजार ४५३ जनाले जापानका लागि स्वीकृति लिएका छन् भने अस्ट्रेलियाका लागि ७ हजार ७३० र बेलायतका लागि ४ हजार ६११ जना रहेका छन्। मन्त्रालयको एनओसी शाखाका प्रमुख वीरेन्द्रजङ्ग थापाका अनुसार गत फेब्रुअरीमा भएको भाषा परीक्षाका कारण जापान जानेको संख्यामा उल्लेख्य वृद्धि भएको हो।
गत आर्थिक वर्ष २०८१/०८२ मा कुल १ लाख २३ हजार ५८९ विद्यार्थीले ८४ देशका लागि एनओसी लिएका थिए। जसमा जापानका लागि मात्रै झन्डै ४० हजार विद्यार्थी रहेका थिए। अध्ययन गर्ने विषयका आधारमा ‘व्यवस्थापन’ (Management) पहिलो रोजाइमा देखिएको छ, जसमा १ लाख १६ हजारभन्दा बढीले स्वीकृति लिएका छन्। त्यसपछि सूचना प्रविधि (IT), विज्ञान र हस्पिटालिटी विषयमा विद्यार्थीको चाप देखिएको छ।
विद्यार्थीहरू ठगिने र गलत संस्थामा पुग्ने जोखिम कम गर्न मन्त्रालयले विश्वविद्यालयहरूको आधिकारिक सूची अद्यावधिक गरेको छ। ‘टाइम्स हाइयर एजुकेसन’ र ‘क्युएस वर्ल्ड युनिभर्सिटी र्याङकिङ’का आधारमा फागुन ११ गते नयाँ सूची सार्वजनिक गरिएको हो। साथै, चीन, अस्ट्रेलिया, नर्वे, बेलायत, अमेरिका लगायत १५ देशका आधिकारिक शिक्षण संस्थाहरूको जानकारी दिने विशेष पोर्टल पनि मन्त्रालयले सञ्चालनमा ल्याएको छ।