एक प्रसिद्ध मारियाची ब्यान्डका गायक दाजुभाइ हिरासतमुक्त
- २६ फाल्गुन २०८२
- १ मिनेटको पढाई
टेक्सस – टेक्ससस्थित एक प्रसिद्ध मारियाची ब्यान्डका दुई किशोर दाजुभाइ र उनीहरूको परिवारलाई सोमबार हिरासतबाट मुक्त गरिएको छ। ट्रम्प प्रशासनको सामूहिक देश निकाला अभियान अन्तर्गत १८ वर्षीय एन्टोनियो गामेज र उनका १४ वर्षीय भाइ जोशुआलाई गत फेब्रुअरी २५ मा परिवारसहित पक्राउ गरिएको थियो।
उनीहरू आबद्ध ‘मारियाची ओरो’ ब्यान्डले ह्वाइट हाउस र कार्नेगी हल जस्ता प्रतिष्ठित स्थानमा प्रस्तुति दिइसकेको छ। कानुनी रूपमै अमेरिका प्रवेश गरेको यो परिवारलाई हिरासतमा राखिएपछि डेमोक्र्याट र रिपब्लिकन दुवै दलका नेताहरूले कडा आलोचना गरेका थिए। चौतर्फी राजनीतिक दबाबपछि उनीहरूलाई रिहा गरिएको हो।
हिरासतबाट छुटेपछि एन्टोनियोले आफ्नो संगीत यात्रालाई निरन्तरता दिने बताएका छन्। उनी यसै वर्ष विद्यालय तह सकेर कलेज जाने र भविष्यमा संगीत शिक्षक बन्ने तयारीमा छन्। सांसद जोआकिन क्यास्ट्रोले यस्ता पारिवारिक हिरासत केन्द्रहरू पूर्ण रूपमा बन्द गर्नुपर्ने माग राखेका छन्।