२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

न्युयोर्कका मेयरको घरबाहिर बम प्रहार गर्ने दुई ‘आईएसआईएस’ समर्थक पक्राउ

न्युयोर्कका मेयरको घरबाहिर बम प्रहार गर्ने दुई ‘आईएसआईएस’ समर्थक पक्राउ

न्युयोर्क – न्युयोर्क सिटीका मेयर जोहरान ममदानीको सरकारी निवास (ग्रेसी मेन्सन) बाहिर विस्फोटक पदार्थ प्रहार गरेको आरोपमा दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा पेन्सिलभेनियाका १८ वर्षीय एमिर बालाट र १९ वर्षीय इब्राहिम कायमी रहेका छन्।

गत शनिबार रमजानको महिनामा मेयरको घरबाहिर भइरहेको एउटा प्रदर्शन र प्रति-प्रदर्शनका क्रममा उनीहरूले घरेलु बम प्रहार गरेका थिए। प्रहरीका अनुसार प्रहार गरिएका दुवै बम विस्फोट हुन भने पाएनन्।

संघीय अदालतमा दर्ता गरिएको उजुरीका अनुसार दुवै संदिग्धले आफूहरू कट्टरपन्थी आतंकवादी समूह आईएसआईएसबाट प्रेरित भएको स्वीकार गरेका छन्। १८ वर्षीय बालाटले प्रहरीसँगको कुराकानीमा आफूले ‘काफिर’ (अविश्वासी) विरुद्ध कदम चालेको दाबी गरेका छन्। उनले सन् २०१३ को बोस्टन म्याराथन बमकाण्ड भन्दा पनि ठुलो क्षति पुर्‍याउने उद्देश्य राखेको बताएको अनुसन्धानमा खुलेको छ।

प्रहरीले बरामद गरेको बममा ‘मदर अफ सातान’ भनिने खतरनाक विस्फोटक पदार्थ प्रयोग भएको पाइएको छ। बमको बाहिरी भागमा मानिसलाई बढी क्षति पुर्‍याउन नट र बोल्टहरू टाँसिएका थिए। प्रहरी अधिकारीहरूका अनुसार यदि ती बमहरू विस्फोट भएको भए ठुलो मानवीय क्षति हुन सक्थ्यो।

दुवै अभियुक्तलाई सोमबार अदालतमा उपस्थित गराइएको छ। उनीहरूविरुद्ध सामूहिक विनाशका हतियार प्रयोग गरेको, आतंकवादी संगठनलाई सहयोग पुर्‍याएको र विस्फोटक पदार्थ ओसारपसार गरेको लगायतका गम्भीर आरोपहरू लगाइएका छन्। हाल उनीहरूलाई धरौटी बिना हिरासतमा राखिएको छ र अर्को सुनुवाइ अप्रिल ८ का लागि तोकिएको छ।