साउदीमा १८ वटा ड्रोन खसालिए, इरान र इजरायलबीच भीषण युद्ध जारी
- २८ फाल्गुन २०८२
- १ मिनेटको पढाई
साउदी – साउदी अरेबियाको रक्षा मन्त्रालयले आफ्नो पूर्वी क्षेत्रमा १८ वटा ड्रोन खसालेको दाबी गरेको छ। साउदी प्रेस एजेन्सीका अनुसार केही दिनयता प्रहार भइरहेका यी ड्रोनहरूलाई बीचैमा रोकेर नष्ट गरिएको हो। यद्यपि, यी ड्रोन कसले प्रहार गरेको हो भन्नेबारे साउदीले केही खुलाएको छैन।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेपछि यो तनाव सुरु भएको हो। त्यसको बदलामा इरानले इजरायल र अमेरिकी सैन्य अड्डा रहेका खाडी मुलुकहरूमा लगातार ड्रोन र क्षेप्यास्त्र प्रहार गरिरहेको छ।
इरानका अनुसार अमेरिका-इजरायलको आक्रमणमा अहिलेसम्म १ हजार ३०० भन्दा बढी मानिस मारिएका छन् भने ८ हजार घर ध्वस्त भएका छन्। इरानी राजदूत अमिर सइद इरावनीले अस्पताल र विद्यालयसहित ९ हजारभन्दा बढी आवासीय क्षेत्रमा हमला भएको बताएका छन्।
यता इरानले पनि इजरायलका हाइफा र तेल अभिभ जस्ता सहरमा क्षेप्यास्त्र प्रहार गरेको छ। इरानको यो जवाफी हमलामा ७ जना अमेरिकी सैनिकको मृत्यु भएको र १४० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।