एक लाख ४९ हजार म्यादी प्रहरीको बिदाइ
- २८ फाल्गुन २०८२
- १ मिनेटको पढाई
काठमाडौं- चुनावका लागि भर्ना गरिएका १ लाख ४९ हजार ९० जना म्यादी प्रहरीलाई बिहीबार बिदाइ गरिएको छ। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि ४० दिनका लागि खटिएका उनीहरूलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले बिदाइ गरेका हुन्।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी अवि नारायण काफ्लेका अनुसार निर्वाचनमा खटिए बापत प्रत्येक म्यादी प्रहरीले ३४ हजार ७ सय ७६ रुपैयाँ तलब पाएका छन्। तलबका साथै उनीहरूलाई रासन, आउजाउ खर्च, खाजा र पोसाक बापतको अतिरिक्त रकम पनि उपलब्ध गराइएको छ।
कुल संख्यामध्ये नेपाल प्रहरीले १ लाख ३३ हजार र सशस्त्र प्रहरीले १५ हजार १ सय १० जना म्यादी प्रहरी भर्ना गरेका थिए। ४० दिनको सेवा अवधि सकेर उनीहरू आजैदेखि आफ्नो घर फर्किएका छन्।