२९ फाल्गुन २०८२, शुक्रबार
13 March 2026, Friday

अमेरिकी मिसाइल आक्रमणमा इरानको विद्यालय ध्वस्त, १७५ जनाको मृत्यु

अमेरिकी मिसाइल आक्रमणमा इरानको विद्यालय ध्वस्त, १७५ जनाको मृत्यु

न्युयोर्क- अमेरिकाले इरानमा गरेको मिसाइल आक्रमणमा एउटा विद्यालय परेको छ, जसमा १७५ जनाको ज्यान गएको छ। मारिनेमा अधिकांश बालबालिका र विद्यालयका कर्मचारी छन्। अमेरिकी सेनाको प्रारम्भिक अनुसन्धानले यो घटनालाई एउटा ठूलो ‘सैन्य गल्ती’ भनेको छ।

फेब्रुअरी २८ मा इरानको मिनाब सहरस्थित शजराह तैय्येबा प्राथमिक विद्यालयमा टोमाहक मिसाइल खसेको थियो। अमेरिकी रक्षा मन्त्रालयको रिपोर्ट अनुसार, पुरानो सूचनाका आधारमा उक्त विद्यालयलाई सैन्य अड्डा ठानेर निशाना बनाइएको थियो। सन् २०१३ देखि २०१६ को बीचमै त्यो भवन विद्यालयमा परिणत भइसकेको भए पनि अमेरिकी इन्टेलिजेन्सले पुरानो तथ्यांक प्रयोग गर्दा यो बीभत्स घटना हुन पुगेको हो।

सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो आक्रमणमा इरानकै हात रहेको दाबी गरेका थिए। तर, स्याटेलाइट तस्बिर र मिसाइलका टुक्रामा भेटिएको अमेरिकी चिन्हले सत्य बाहिर ल्याएको छ। ‘अपरेसन एपिक फ्युरी’ अन्तर्गत इरानी नौसेनालाई लक्षित गर्दा छिमेकमै रहेको विद्यालयमा ठूलो क्षति पुगेको हो।

इरानी सञ्चारमाध्यमले सार्वजनिक गरेका भिडियोहरूमा विद्यालयको भग्नावशेषमा बालबालिकाहरू पुरिएको हृदयविदारक दृश्य देखिएको छ। यस घटनालाई पछिल्लो दशककै सबैभन्दा खराब सैन्य गल्तीका रूपमा हेरिएको छ।

सम्बन्धित खबर