खाडी क्षेत्रमा इन्धन ट्यांकरमा विस्फोट, एकको मृत्यु
- २८ फाल्गुन २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- खाडी क्षेत्रमा बिहीबार दुईवटा विदेशी इन्धन ट्यांकरमा ठूलो विस्फोट भएको छ। इराकको उम्म कसर बन्दरगाहनजिकै भएको यो आक्रमणमा परी एकजनाको मृत्यु भएको छ भने ३८ जनालाई सकुशल उद्धार गरिएको छ। इरानी डुंगाबाट विस्फोटक पदार्थ प्रयोग गरी यो हमला गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
आक्रमणपछि इराकी अधिकारीहरूले तेल बन्दरगाहहरूको सञ्चालन बन्द गरेका छन्। विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्ग मानिने होर्मुज जलमार्गमा अन्य तीनवटा मालवाहक जहाजमा पनि प्रहार गरिएको खबर छ। यस्तै, संयुक्त अरब इमिरेट्स (यूएई) को तट नजिकै अर्को एक कन्टेनर जहाजमा पनि अज्ञात मिसाइल प्रहार भएको छ, जहाँ चालक दलका सदस्यहरू भने सुरक्षित छन्।
यसैबीच, इरानको रिभोलुसनरी गार्ड्सले बुधबार थाइल्यान्डको ‘मयूरी नारी’ नामक जहाजमा आक्रमण गरेको स्वीकार गरेको छ। चेतावनी बेवास्ता गरेकाले आक्रमण गरिएको इरानको दाबी छ। यूएईबाट भारततर्फ आउँदै गरेको सो जहाजको इन्जिन रुममा आगो लागेपछि २० जनाको उद्धार गरिएको छ भने तीनजना अझै फसेका छन्।
भारत र थाइल्यान्डले व्यावसायिक जहाजमाथि भइरहेका यस्ता सैन्य आक्रमणको कडा निन्दा गरेका छन्। भारतले समुद्री मार्गमा सर्वसाधारण र चालक दलका सदस्यको ज्यान खतरामा नपार्न आग्रह गरेको छ।