२८ फाल्गुन २०८२, बिहिबार
12 March 2026, Thursday

मस्को कन्सर्ट हल आक्रमणका १५ अभियुक्तलाई आजीवन कारावास

मस्को कन्सर्ट हल आक्रमणका १५ अभियुक्तलाई आजीवन कारावास

मस्को- मस्कोको क्रोकस सिटी कन्सर्ट हलमा सन् २०२४ मा भएको बीभत्स आतंकवादी आक्रमणका अभियुक्तहरूलाई रुसी अदालतले कडा सजाय सुनाएको छ। बिहीबार भएको फैसलामा चार मुख्य बन्दुकधारीसहित १५ जनालाई आजीवन कारावासको सजाय दिइएको हो।

सन् २०२४ मार्च २२ मा भएको उक्त आक्रमणमा १५० जनाको ज्यान गएको थियो भने ६०० भन्दा बढी घाइते भएका थिए। इस्लामिक स्टेट (आईएस) ले जिम्मेवारी लिएको उक्त घटनामा चार ताजिक नागरिकले कन्सर्ट हलभित्र अन्धाधुन्ध गोली चलाएर आगजनी गरेका थिए। न्यायाधीशले उनीहरूलाई दोषी ठहर गर्दै जेलमै जीवन बिताउनुपर्ने फैसला सुनाएका हुन्।

अदालतले मुख्य अभियुक्त बाहेक अन्य ११ जना सहयोगीलाई पनि आजीवन कारावास र बाँकी केहीलाई १९ देखि २२ वर्षसम्मको कैद सजाय दिएको छ। यो घटना सन् २००४ को बेसलान विद्यालय आक्रमणपछिकै रुसमा भएको सबैभन्दा ठूलो आतंकवादी हमला हो।

यस घटनापछि रुसले आप्रवासी नीतिमा कडाइ गरेको छ, जसले मध्य एसियाली देशहरूसँगको सम्बन्धमा केही चिसोपन ल्याएको छ। मृतकका परिवारले अदालतको यो फैसलालाई स्वागत गरेका छन्।