२८ फाल्गुन २०८२, बिहिबार
12 March 2026, Thursday

बालेन शाहको नेतृत्वमा नयाँ सरकार बन्ने तयारी, रास्वपाभित्र छलफल तीव्र

बालेन शाहको नेतृत्वमा नयाँ सरकार बन्ने तयारी, रास्वपाभित्र छलफल तीव्र

काठमाडौं- समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना सकिएसँगै नयाँ सरकार गठनको चहलपहल सुरु भएको छ। प्रत्यक्ष र समानुपातिकतर्फ गरी दुईतिहाइ बहुमतनजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार बनाउने तयारी थालेको छ।

रास्वपा नेता शिशिर खनालका अनुसार समानुपातिक सांसदहरूको अन्तिम टुङ्गो लागेपछि सरकार गठनको औपचारिक प्रक्रिया अघि बढ्नेछ। निर्वाचन आयोगले सम्भवतः आजै दलहरूलाई समानुपातिक सांसद छान्न पत्राचार गर्ने र चैत ५ गतेभित्र अन्तिम प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने योजना बनाएको छ।

भावी मन्त्रिपरिषद्‌मा को-को अटाउँछन् भन्नेबारे पनि चासो बढेको छ। रास्वपा नेता असिम शाहले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीका रूपमा बालेन शाह आफैँले आफ्नो टिम छनोट गर्ने बताएका छन्। पार्टीले सुरुमा १५ जना जतिको सानो र छरितो मन्त्रिपरिषद् बनाउने सोच राखेको छ, जसले सुशासन र मितव्ययिताको सन्देश दिने नेताहरूको दाबी छ।

संविधान संशोधनबिना विज्ञहरूलाई मन्त्री बनाउन कानुनी अड्चन रहेकाले हाललाई सांसदहरूबाटै मन्त्री छानिने सम्भावना छ। यस्तै, प्रदेश संरचनाका विषयमा भने रास्वपाले तत्कालै कुनै कदम नचाली राष्ट्रिय सहमतिमार्फत संविधान संशोधनको प्रक्रिया अघि बढाउने बताएको छ।