२९ फाल्गुन २०८२, शुक्रबार
13 March 2026, Friday

इराकमा अमेरिकी सैन्य विमान दुर्घटना, ७ सैनिकको मृत्यु भएको पुष्टि

इराकमा अमेरिकी सैन्य विमान दुर्घटना, ७ सैनिकको मृत्यु भएको पुष्टि

न्युयोर्क – इरानसँगको युद्धमा परिचालन गरिएको अमेरिकी सेनाको एउटा इन्धन भर्ने विमान (रिफ्युलिङ ट्याङ्कर) पश्चिमी इराकमा दुर्घटनाग्रस्त भएको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार ‘अपरेसन एपिक फ्युरी’ अन्तर्गत उडानमा रहेको केसी–१३५ ट्याङ्कर विमान दुर्घटनामा परेको हो।

अमेरिकी सेनाले यो दुर्घटना शत्रुपक्षको आक्रमण वा आफ्नै सेनाको गल्तीका कारण नभएको स्पष्ट पारेको छ। ‘एक्स’ मार्फत जारी विज्ञप्तिमा भनिएको छ, “उडानमा दुईवटा विमान सहभागी थिए। एउटा सुरक्षित अवतरण भयो भने अर्को दुर्घटनामा परेर पूर्ण रूपमा नष्ट भएको छ।” अहिले दुर्घटनास्थलमा उद्धार कार्य जारी रहेको छ।

इरान र अमेरिकाबीच गत फेब्रुअरी २८ बाट युद्ध सुरु भएयता अमेरिकी पक्षले गुमाएको यो चौथो विमान हो। यसअघि कुवेती सेनाको झुक्क्याएर गरिएको प्रहारबाट तीनवटा एफ–१५ई लडाकु विमानहरू खसेका थिए। यद्यपि, ती विमानमा रहेका ६ जना चालक दलका सदस्यहरू भने बाँच्न सफल भएका थिए।

पेन्टागनका अनुसार यो द्वन्द्व सुरु भएदेखि हालसम्म सातजना अमेरिकी सैनिकले ज्यान गुमाइसकेका छन्। त्यस्तै, करिब १४० जना सैनिक घाइते भएका छन्, जसमध्ये आठजनाको अवस्था निकै गम्भीर रहेको बताइएको छ। अमेरिकी सेनाले घाइते र मृतकका परिवारलाई जानकारी दिने काम भइरहेको भन्दै धैर्य रहन आग्रह गरेको छ।