३० फाल्गुन २०८२, शनिबार
14 March 2026, Saturday

न्युयोर्कमा क्रियापुत्री भवन र गुम्बा निर्माणार्थ देवी प्रतिभाले श्रीमद्भागवत कथा वाचन गर्ने

न्युयोर्कमा क्रियापुत्री भवन र गुम्बा निर्माणार्थ देवी प्रतिभाले श्रीमद्भागवत कथा वाचन गर्ने

न्युयोर्क- अमेरिकाको न्युयोर्कमा क्रियापुत्री भवन तथा गुम्बा निर्माणका लागि श्रीमद्भागवत कथा वाचन हुने भएको छ। ‘हामी नेपाली इन्टरनेसनल’ र ‘रेभल इभेन्ट्स इन्क न्युयोर्क’ले संयुक्त रूपमा यो कार्यक्रम आयोजना गर्न लागेका हुन्। कार्यक्रममा चर्चित कथावाचिका देवी प्रतिभाले कथा वाचन गर्ने आयोजकले बताए।

कथा वाचन कार्यक्रम आउँदो मे १५ देखि १७ तारिखसम्म चल्नेछ। यो धार्मिक कार्यक्रम न्युयोर्कको क्विन्सस्थित वुडसाइडमा रहेको श्री दिव्य धाम (34-63 56th St, Queens, Woodside, 11377 NY) मा आयोजना हुनेछ।

क्रियापुत्री भवन र गुम्बा निर्माणका लागि आर्थिक सहयोग जुटाउनुका साथै धर्म, संस्कार र सामुदायिक एकताको प्रवर्द्धन गर्नु यसको मुख्य उद्देश्य रहेको आयोजकले जानकारी दिए।

कार्यक्रमको पहिलो दिन विशेष कार्यक्रमहरू तय गरिएका छन्। सुरुवातमा मंगल ध्वनि र शंखनाद गरिनेछ। त्यसपछि भक्तजनको सहभागितामा कलश यात्रा र दीप प्रज्वलन हुनेछ। कलश यात्रा सकिएपछि वैदिक मन्त्रोच्चारण, पूजाआर्चना र आशीर्वचनसहित कथा वाचन प्रारम्भ हुनेछ। यो कार्यक्रमले समुदायमा भक्ति, सेवा र आध्यात्मिक चेतनाको विस्तार गर्ने विश्वास लिइएको छ।

कार्यक्रमबारे थप जानकारी लिन र सम्पर्क गर्नका लागि आयोजकले विभिन्न नम्बरहरू उपलब्ध गराएका छन्। इच्छुक व्यक्तिले सूर्य सिम्खडालाई +१ ३४७ ४१९ ५००९, मोहन वैबालाई +१ ३४७ ८३७ ०७७७ र नवराज केसीलाई +१ ३४७ ५६७ ८५१२ मा सम्पर्क गर्न सक्नेछन्। त्यसैगरी जोन लामालाई +१ ६३१ ९४९ ८३१४, राजेश हमाललाई +१ ९२९ ३९६ ८७२१ र वेल्डन क्रियेसन्सलाई +१ ४४३ ४०० ९२७३ मा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ।