जेनजी आन्दोलनका २ हजार ६३८ घाइतेको विवरण सार्वजनिक
- ३० फाल्गुन २०८२
- १ मिनेटको पढाई
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले देशभरका ९९ अस्पतालमा २ हजार ६३८ जना घाइतेको उपचार भएको जानकारी दिए।
केही अस्पतालबाट विवरण आउन ढिलो भएकाले सार्वजनिक गर्न समय लागेको उनले बताए। अहिले संकलित सबै घाइतेको विवरण गृह मन्त्रालयलाई पठाइएको छ।
मन्त्रालयले चरणबद्ध रूपमा गृह मन्त्रालयलाई तथ्यांक बुझाएको थियो। जसअनुसार असोज ३१ गते २ हजार ५२२, माघ ४ गते ७७ र फागुन २९ गते ३९ जना घाइतेको विवरण पठाइएको हो।
तथ्यांकअनुसार सबैभन्दा धेरै ४५८ जनाको उपचार नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा भएको थियो। यसैगरी, नेपाल पुलिस अस्पतालमा २०३, राष्ट्रिय ट्रमा सेन्टरमा १९० र त्रिवि शिक्षण अस्पतालमा १०८ जना घाइतेको उपचार गरिएको थियो।
pdf2_cxvztomgtup5bs6seyjfo8nvkqhjznntpshuvrrlbvesgm38eu6qz4w0dlnd