३० फाल्गुन २०८२, शनिबार
14 March 2026, Saturday

बग्दादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण, हेजबुल्लाहका तीन सदस्य मारिए

बग्दादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण, हेजबुल्लाहका तीन सदस्य मारिए

न्युयोर्क- इराकको राजधानी बग्दादमा रहेको अमेरिकी दूतावासमा शनिबार ड्रोन आक्रमण भएको छ। इरान समर्थित समूह ‘काताइब हेजबुल्लाह’ का तीन सदस्य मारिएको केही समयपछि नै दूतावासमा आक्रमण भएको सुरक्षा स्रोतले बताए।

शनिबार बिहान दूतावास परिसरमा विस्फोटको आवाज सुनिएपछि कालो धुवाँको मुस्लो उडेको थियो। दुई सुरक्षा अधिकारीले दूतावासमा ड्रोनबाट आक्रमण भएको बताए पनि अमेरिकी दूतावासले यसबारे कुनै प्रतिक्रिया दिएको छैन। युद्ध सुरु भएयता अमेरिकी दूतावासमाथि भएको यो दोस्रो आक्रमण हो।

यसअघि बग्दादका दुई छुट्टाछुट्टै स्थानमा काताइब हेजबुल्लाहलाई लक्षित गरी आक्रमण भएको थियो। अरासत क्षेत्रको एउटा घर र नहरावान जिल्लामा गाडीमाथि भएको आक्रमणमा कमान्डर अबु अली अल–अमिरीसहित तीन जनाको मृत्यु भएको छ। आक्रमणमा समूहका उच्च नेता अहमद अल–हमिदावी घाइते भएको स्थानीय सञ्चारमाध्यमले बताए।

मारिएका लडाकुहरूको बग्दादमा अन्त्येष्टि गरिएको छ। इरान समर्थक स्रोतले यसलाई लक्षित हत्याको प्रयास भनेका छन्। तर, यो आक्रमण कसले गर्‍यो भन्ने खुलेको छैन र हेजबुल्लाह समूहले पनि यसबारे केही बोलेको छैन। गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि इराक पनि मध्यपूर्वको युद्धमा तानिएको छ।