३० फाल्गुन २०८२, शनिबार
14 March 2026, Saturday

अमेरिकाले खार्ग टापुमा हमला गरेपछि इरानद्वारा यूएईको बन्दरगाहमा ड्रोन आक्रमण

अमेरिकाले खार्ग टापुमा हमला गरेपछि इरानद्वारा यूएईको बन्दरगाहमा ड्रोन आक्रमण

न्युयोर्क- अमेरिकाले इरानको खार्ग टापुमा भीषण हमला गरेलगत्तै इरानले संयुक्त अरब इमिरेट्स (यूएई) को फुजाइरा बन्दरगाहमा ड्रोन आक्रमण गरेको छ। हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेको ड्रोन खस्दा बन्दरगाहमा आगलागी भएको र आगो निभाउने काम भइरहेको यूएईका अधिकारीले बताए।

फुजाइरा मध्यपूर्वकै ठूलो तेल भण्डारण र पानीजहाजमा इन्धन भर्ने महत्त्वपूर्ण केन्द्र हो। अमेरिकाले आफ्नो मुख्य तेल केन्द्र खार्ग टापुमा आक्रमण गरेपछि इरानको रिभोल्युसनरी गार्ड्सले यूएईका बन्दरगाह र अमेरिकी सैन्य शिविरलाई वैध निसाना बनाएको घोषणा गरेको छ। इरानी सेनाका प्रवक्ता कर्णेल इब्राहिम जुल्फीगरीले सम्भावित क्षतिबाट बच्न मानिसहरूलाई यूएईका सहरहरू छाड्न आग्रह गरे।

इरानको चेतावनीपछि कतारको राजधानी दोहामा रहेका गुगल र अमेरिकन एक्सप्रेस जस्ता अमेरिकी कम्पनीका कार्यालय क्षेत्र पनि खाली गर्न निर्देशन दिइएको छ। यसैबीच, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले खार्ग टापुमा रहेका इरानका सबै सैन्य ठेगाना पूर्ण रूपमा नष्ट गरेको दाबी गरे। खार्ग टापुबाट इरानको ९० प्रतिशत तेल निर्यात हुन्छ।

यो आक्रमणले युद्धलाई नयाँ चरणमा पुर्‍याएको र अब इरानले खानेपानी प्रशोधन केन्द्र जस्ता महत्त्वपूर्ण संरचनामा हमला गर्न सक्ने बीबीसीका सुरक्षा संवाददाता फ्र्याङ्क गार्डनरले बताए। यसैबीच, हमासले इरानलाई छिमेकी देशमा आक्रमण नगर्न र तत्काल युद्ध रोक्न अपिल गरेको छ। अमेरिका र इजरायलको आक्रमणले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको हमासले जनाएको छ।