३० फाल्गुन २०८२, शनिबार
14 March 2026, Saturday

इरानको तेल उद्योगको मुटु ‘खार्ग टापु’ : जहाँ अमेरिकाले गर्‍यो शक्तिशाली हमला

इरानको तेल उद्योगको मुटु ‘खार्ग टापु’ : जहाँ अमेरिकाले गर्‍यो शक्तिशाली हमला

न्युयोर्क- अमेरिका र इजरायलले इरानमाथि निरन्तर हमला गरिरहेका छन्। यसैबीच अमेरिकाले शुक्रबार इरानको खार्ग टापुमा रहेका सैन्य अखडाहरूमा शक्तिशाली आक्रमण गर्‍यो। यो टापु इरानको तेल उद्योगको मुख्य केन्द्र हो।

खार्ग टापु पर्सियन खाडीमा इरानको तटबाट २५ किलोमिटर टाढा रहेको एउटा सानो टापु हो। कडा सैन्य सुरक्षा हुने भएकाले यसलाई ‘निषेधित टापु’ पनि भनिन्छ। इरानले निर्यात गर्ने कुल कच्चा तेलमध्ये ९० प्रतिशत यही टापुबाट बाहिरिन्छ। त्यसैले यो टापुलाई इरानको अर्थतन्त्रको मेरुदण्ड मानिन्छ।

शुक्रबारको आक्रमणमा अमेरिकाले विमानस्थल, समुद्री माइन भण्डारण र मिसाइल भण्डारणलगायतका सैन्य संरचनाहरू नष्ट गर्‍यो। तर, तेल भण्डारण र प्रशोधन केन्द्रहरूमा भने क्षति पुर्‍याएन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुज जलडमरूमा अवरोध गरेमा तेल केन्द्रहरूमा पनि आक्रमण गर्ने चेतावनी दिए। इरानले पनि टापुमा १५ वटा विस्फोट भएको तर तेल संरचना सुरक्षित रहेको बतायो।

विश्वको कुल तेल आपूर्तिको ४.५ प्रतिशत इरानले धानेको छ। दैनिक ३३ लाख ब्यारेल कच्चा तेल उत्पादन गर्ने इरानले ३ करोड ब्यारेल तेल यही टापुमा भण्डारण गर्न सक्छ। अहिले त्यहाँ करिब १ करोड ८० लाख ब्यारेल तेल रहेको अनुमान छ।

यदि अमेरिकाले तेल संरचनामै आक्रमण गरेमा इरानको अर्थतन्त्र तहसनहस हुनेछ। यसलाई फेरि बनाउन महिनौँ वा वर्षाैं लाग्न सक्छ। यसबाट सबैभन्दा धेरै असर इरानको प्रमुख तेल खरिदकर्ता चीनलाई पर्नेछ।

इरानले आफ्नो तेल संरचनामा आक्रमण भएमा मध्यपूर्वका अन्य देशमा रहेका अमेरिकी साझेदार कम्पनीका तेल केन्द्रहरूमा पनि हमला गर्ने चेतावनी दियो। यस्तो अवस्था आएमा विश्वभर तेलको मूल्य अचाक्ली बढ्ने विश्लेषकहरूले बताए।

यसैबीच, अमेरिकाले थप २ हजार ५०० मरिन सैनिक मध्यपूर्वमा पठाउने घोषणा गर्‍यो। विज्ञहरूका अनुसार खार्ग टापु कब्जा गर्न वा त्यहाँ ठूलो आक्रमण गर्न ठूलो संख्यामा स्थल सेना आवश्यक पर्छ। तर ट्रम्प प्रशासन अहिलेसम्म स्थल सेना पठाउन भने हच्किरहेको छ।