लायन्स क्लब अफ क्वीन्स बुद्धद्वारा जनता आधारभूत विद्यालयलाई रु. ५,८५,००० सहयोग
- ३० फाल्गुन २०८२
- २ मिनेटको पढाई
न्युयोर्क- शिक्षा, शौचालय निर्माण र सरसफाइ क्षेत्रको सुधारका लागि महत्त्वपूर्ण योगदान स्वरूप लायन्स क्लब अफ क्वीन्स बुद्धले विराटनगर–१२ स्थित जनता आधारभूत विद्यालयलाई रु. ५,८५,००० (पाँच लाख पचासी हजार रुपैयाँ) सहयोग प्रदान गरेको छ। उक्त सहयोग विद्यालयको शिक्षा, शौचालय निर्माण र सरसफाइ क्षेत्रको सुधारका लागि प्रदान गरिएको हो।

विद्यालय परिसरमा आयोजित एक विशेष कार्यक्रममार्फत उक्त रकम औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो। कार्यक्रममा लायन्स क्लबका विभिन्न अतिथि, विद्यालयका प्रतिनिधि तथा स्थानीय समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि लायन उदय बराल, नेपालका प्रमुख जिल्ला सल्लाहकार डिस्ट्रिक्ट ३२५ C लगायत विराटनगर–१२ का वडा अध्यक्ष हिरालाल कामत, विद्यालय व्यवस्थापन समिति अध्यक्ष महेन्द्र कुमार राजवंशी, विद्यालयका प्रधानाध्यापक ओ. एम. ढकाल, सिटी कलेजका क्याम्पस प्रमुख तीर्थराज घिमिरे, लायन नवराज दाहाल, महिला युवा नेत्री निशा श्रेष्ठ लगायत विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। शिक्षाको गुणस्तर सुधार गर्न र विद्यालयमा उचित सरसफाइ व्यवस्था कायम गर्न सामुदायिक सहयोगको महत्त्वपूर्ण भूमिका रहेको त्यो कार्यक्रममा महाशूस गरिएको थियो।
जनता आधारभूत विद्यालय का प्रतिनिधिहरूले लायन्स क्लब क्विन्स बुद्ध प्रति हार्दिक आभार व्यक्त गर्दै प्राप्त सहयोग विद्यालयको शैक्षिक सामग्री सुधार तथा सरसफाइ संरचना सुदृढीकरणका लागि प्रयोग गरिने बताएका छन्। यसबाट विद्यालयमा अध्ययनरत सयौँ विद्यार्थीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास गरिएको छ।
लायन्स क्लब अफ क्वीन्स बुद्धका अध्यक्ष संयुक्त मल्ल ठकुरीको पहलमा भएको यो कार्यक्रममा क्लबका अन्य सदस्यहरूबाट पनि आर्थिक र नैतिक सहयोग प्रदान भएको थियो। लायन्स क्लब अफ क्विन्स बुद्धका पदाधिकारीहरूले यस सहयोगलाई सामाजिक सेवाप्रतिको आफ्नो प्रतिबद्धताको उदाहरण भएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य र सामाजिक कल्याणका क्षेत्रमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रममा सहभागी स्थानीय व्यक्तित्वहरूले पनि लायन्स क्लब अफ क्विन्स बुद्धले गरेको यस पहलको प्रशंसा गर्दै सामाजिक संस्था र शैक्षिक संस्थाबिचको सहकार्यले समुदायको दिगो विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने बताएका थिए।
कार्यक्रमका अन्त्यमा धन्यवाद ज्ञापनसहित विद्यालय प्रशासन र लायन्स क्लबबिच भविष्यमा पनि विद्यार्थीहरूको हितका लागि सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

बेगम पण्डित, न्यूयोर्क