खाडीको द्वन्द्वले आप्रवासी श्रमिक मारमा, ज्यान जोखिममा राखेर काम गर्न बाध्य
- ०३ चैत्र २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिका, इजरायल र इरानबीचको बढ्दो तनावका कारण संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब र कुवेत जस्ता खाडी मुलुकहरू असुरक्षित बन्दै गएका छन्। यसको सबैभन्दा ठूलो मारमा त्यहाँ कार्यरत नेपाल, भारत, पाकिस्तान र बंगलादेश लगायतका गरिब देशका आप्रवासी श्रमिकहरू परेका छन्।
आकाशमै नष्ट गरिएका मिसाइल र ड्रोनका ताता र धारिला टुक्राहरू भुइँमा खस्दा सडक र खुला ठाउँमा काम गर्ने मजदुरहरूको ज्यान गइरहेको छ। भर्खरै यूएईमा एक पाकिस्तानी चालक, कुवेतमा एक बालिका र साउदी अरबमा एक बंगलादेशी सफाइ मजदुरले यसैको चपेटामा परेर ज्यान गुमाए।
युद्धको त्रासले धनी विदेशीहरू सुरक्षित देशतिर गइरहे पनि न्यून तलबमा काम गर्ने श्रमिकहरू भने भाग्न सक्ने अवस्थामा छैनन्। सुरक्षित आश्रयस्थलको अभाव र खुला ठाउँमा काम गर्नुपर्ने जोखिमका बीच पनि ऋण र परिवारको जिम्मेवारीले गर्दा उनीहरू त्यहीँ बसेर काम निरन्तर गर्न विवश छन्।