ऊर्जा केन्द्रहरूमा आक्रमण तीव्र: होर्मुज जलमार्ग खुलाउन ६ देशले सघाउने
- ०६ चैत्र २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- इरानले अवरुद्ध पारेको विश्वकै महत्वपूर्ण होर्मुज जलमार्ग खुलाउन ६ वटा शक्तिशाली देशहरूले अमेरिकालाई सहयोग गर्ने भएका छन्। बेलायत, जापान, नेदरल्यान्ड्स, इटाली, जर्मनी र फ्रान्सले यो समुद्री मार्गमा सुरक्षित आवागमन सुनिश्चित गर्न सघाउने प्रतिबद्धता जनाएका हुन्।
मध्यपूर्वमा ऊर्जा केन्द्रहरूमाथि भइरहेको आक्रमणले विश्वभर तेल र ग्यासको संकट निम्त्याउने जोखिम बढेपछि यी देशहरू सक्रिय भएका हुन्। बिहीबार मात्रै इरानले विश्वकै सबैभन्दा ठूलो ग्यास प्लान्टमध्ये एक कतारको ‘रास लफान’ मा मिसाइल प्रहार गरी ठूलो क्षति पुर्याएको थियो। यसअघि इजरायलले इरानको दक्षिण पार्स ग्यास क्षेत्रमा आक्रमण गरेपछि इरानले त्यसको बदलास्वरूप क्षेत्रीय ऊर्जा पूर्वाधारहरूलाई निशाना बनाइरहेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्ग खुलाउन विश्व समुदायसँग अपिल गरेपछि यी ६ देशले मद्दत गर्ने बताएका हुन्। यसैबीच, अमेरिकाले इरानसँगको तनावलाई मध्यनजर गर्दै पश्चिम एसियामा थप ८ हजार सैनिक, एफ–३५ लडाकु विमान र अत्याधुनिक युद्धपोतहरू पठाउने तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। पछिल्ला आक्रमणहरूका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा समेत भारी वृद्धि भएको छ।