६ चैत्र २०८२, शुक्रबार
20 March 2026, Friday

अमेरिकी लडाकु विमान राख्ने प्रस्ताव श्रीलंकाद्वारा अस्वीकार, तटस्थ रहने स्पष्ट

अमेरिकी लडाकु विमान राख्ने प्रस्ताव श्रीलंकाद्वारा अस्वीकार, तटस्थ रहने स्पष्ट

न्युयोर्क  – हिन्द महासागरमा बढ्दो सैन्य तनावका बीच श्रीलंकाले आफ्नो भूमिमा अमेरिकी लडाकु विमान राख्ने प्रस्तावलाई अस्वीकार गरेको छ। श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकले शुक्रबार संसद्‌मा सम्बोधन गर्दै आफ्नो देशको तटस्थ नीतिलाई कडाइका साथ पालना गर्ने र कुनै पनि सैन्य गतिविधिका लागि भूमि प्रयोग गर्न नदिने स्पष्ट पारेका हुन्।

अमेरिकाले गत फेब्रुअरी २६ मा जिबूटीस्थित आफ्नो आधार इलाकाबाट दुईवटा लडाकु विमान मट्टाला अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराई जहाजविरोधी क्षेप्यास्त्र राख्ने अनुमति मागेको थियो। तर, श्रीलंकाले क्षेत्रीय सन्तुलन र तटस्थता कायम राख्न उक्त प्रस्ताव अस्वीकार गरिदियो।

सोही समयमा इरानले पनि आफ्ना तीन युद्धपोतलाई कोलम्बोमा ‘पोर्ट कल’ (विश्राम) का लागि अनुमति मागेको थियो। राष्ट्रपति दिसानायकका अनुसार इरानलाई अनुमति दिँदा अमेरिकालाई पनि दिनुपर्ने अवस्था आउने भएकाले दुवै पक्षप्रति समान दूरी कायम राख्दै यस्तो निर्णय लिइएको हो।

यसअघि मार्चको सुरुमा अमेरिकी सेनाले श्रीलंकाको दक्षिणी तट नजिकै इरानी युद्धपोत ‘आइरिस डेना’ माथि आक्रमण गर्दा ८४ जना नाविकको मृत्यु भएको थियो। सो घटनापछि श्रीलंकाली नौसेनाले ३२ जनाको उद्धार गरेको थियो भने अर्को इरानी जहाज ‘आइआरआइएस बुसेहर’ लाई मानवीय आधारमा शरण दिएको थियो। आफ्नो प्रमुख निर्यात बजार अमेरिका र चियाको ठूलो क्रेता इरान दुवैसँगको सम्बन्धलाई सन्तुलित राख्नु श्रीलंकाको मुख्य चुनौती बनेको छ।