२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

नेपालमा बढ्यो साइबर अपराध: विवरण माग्नै प्रहरीलाई सास्ती

नेपालमा बढ्यो साइबर अपराध: विवरण माग्नै प्रहरीलाई सास्ती

काठमाडौं- नेपालमा इन्टरनेटको प्रयोग बढेसँगै साइबर अपराधका घटना तीव्र रूपमा बढेका छन्। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले महिला र युवा यसबाट सबैभन्दा धेरै पीडित भएको बताए। प्रहरीको तथ्यांकअनुसार अहिले सबैभन्दा धेरै १० हजारभन्दा बढी आर्थिक अपराधका घटना दर्ता भएका छन्। त्यस्तै नक्कली खाताका ४ हजार र इन्टरनेटमार्फत दुर्व्यवहार गर्ने ३ हजारभन्दा धेरै उजुरी परेका छन्। खाता चोरी गर्ने, पैसा लुट्ने र धम्की दिने क्रम पनि निकै बढेको छ।

सामाजिक सञ्जाल विदेशी कम्पनीले चलाउने भएकाले अनुसन्धान गर्न प्रहरीलाई निकै गाह्रो भएको कार्कीले बताए। नेपालमा यससम्बन्धी पर्याप्त कानुन र सिधा सम्पर्क नहुँदा प्रहरीले फेसबुक र इन्स्टाग्रामबाट विवरण माग्न व्यक्तिगत चिनजानको भर पर्नुपरेको उनले खुलाए। यसरी चिनजानको आधारमा अनुसन्धानका लागि विवरण माग्दा पनि सूचना पाउन २० देखि २५ दिनसम्म लाग्ने गरेको उनले जानकारी दिए।