विदेशी सामाजिक सञ्जाल दर्ता नहुँदा साइबर अपराध अनुसन्धानमा सास्ती: प्रहरी प्रमुख
- १० बैशाख २०८३
- १ मिनेटको पढाई
काठमाडौं- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा साइबर अपराध तीव्र गतिमा बढिरहेको बताएका छन्। बिहीबार संसदीय समितिको बैठकमा उनले इन्टरनेट र मोबाइलको बढ्दो प्रयोगले यस्ता घटना बढेको र यसबाट महिला तथा युवा बढी प्रभावित भएको जानकारी दिए।
प्रहरीको तथ्याङ्क अनुसार सबैभन्दा बढी १० हजारभन्दा धेरै आर्थिक अपराधका उजुरी परेका छन्। त्यस्तै, नक्कली खाता बनाएर घृणा फैलाउने ४ हजार र इन्टरनेटमार्फत दुःख दिने ३ हजारभन्दा बढी उजुरी दर्ता भएका छन्। खाता चोरी गर्ने, ठगी गर्ने र धम्की दिने गतिविधि व्यापक भएको उनले बताए।
सामाजिक सञ्जालहरू विदेशी कम्पनीका भएकाले अनुसन्धान गर्न प्रहरीलाई निकै गाह्रो भएको कार्कीले बताए। नेपालमा फेसबुक, इन्स्टाग्राम जस्ता माध्यम दर्ता नभएकाले व्यक्तिगत चिनजानको भरमा सूचना लिनुपरेको उनले खुलाए। विदेशमा तालिममा जाँदा उपहार दिएर बनाएको सम्बन्धको आधारमा विवरण माग्ने गरेको र त्यसका लागि पनि २० देखि २५ दिन लाग्ने उनले बताए।
नेपालमा टिकटक, भाइबर लगायतका केही माध्यम दर्ता भए पनि धेरै प्रयोग हुने फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप दर्ता छैनन्। अरू धेरै विदेशी माध्यमले त प्रहरीलाई कुनै जवाफ नै नदिने उनले बताए। यो समस्या समाधान गर्न सामाजिक सञ्जाललाई नेपालमा दर्ता गराउने र दोषीलाई कडा कारबाही हुने स्पष्ट कानुन बनाउन उनले माग गरे।