२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

सुकुम्बासी बस्ती हटाउन महानगरको डोजर अभियान: थापाथलीपछि गैरीगाउँका टहरा भत्काइँदै

सुकुम्बासी बस्ती हटाउन महानगरको डोजर अभियान: थापाथलीपछि गैरीगाउँका टहरा भत्काइँदै

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने अभियानलाई तीव्र पारेको छ। शनिबार बिहानैदेखि थापाथली क्षेत्रबाट सुरु भएको डोजर अभियान दिउँसो काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँ पुगेको छ।

गैरीगाउँमा सार्वजनिक स्थल अतिक्रमण गरी बनाइएका संरचना र टहराहरू भत्काउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगर प्रहरीको संयुक्त टोलीले अहिले त्यहाँका अस्थायी तथा स्थायी संरचनाहरू हटाइरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले थापाथली क्षेत्र खाली गराएपछि टोली गैरीगाउँ पुगेको र हालसम्म कुनै झडप वा अवरोधको स्थिति नआएको जानकारी दिए।

यता, कोटेश्वर र लोकन्थली क्षेत्रका बासिन्दाले भने सम्भावित झडप र क्षतिबाट बच्न आफैँ आफ्ना घरटहरा भत्काउन थालेका छन्। काठमाडौँ र भक्तपुर दुवैतर्फ पर्ने यो बस्तीमा अहिले सामान सार्नेको ताँती लागेको छ। साना र मझौला मालवाहक गाडीमा स्थानीयहरूले आफ्ना सामान, जस्तापाता र अन्य सामग्री लोड गरिरहेका छन्। कतिपय घरमा महिला र बालबालिका मात्रै भएकाले उनीहरूलाई छिमेकीले सामान ओसार्न सघाइरहेका छन्।

महानगरका अनुसार यो अभियान दुई चरणमा हुनेछ। पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल र गैरीगाउँका बस्ती हटाइनेछ। बस्तीबाट विस्थापित भएका वास्तविक सुकुम्बासीलाई पहिचान गरी नागार्जुन नगरपालिकाको इचंगुनारायणमा बनाइएको सरकारी अपार्टमेन्टमा व्यवस्थापन गर्ने महानगरको योजना छ। २०६९ सालमै बनेका यी २२४ वटा ब्लक लामो समयदेखि स्थानीयको अवरोधले प्रयोगमा आउन सकेका थिएनन्।

आफ्नो थातथलो गुमेपछि स्थानीयहरू भावुक र आक्रोशित समेत देखिएका छन्। फोटो र भिडियो खिच्न खोज्नेलाई “हाम्रो दुःख नबेच्नुस्” भन्दै उनीहरूले आक्रोश व्यक्त गरिरहेका छन्। गहभरि आँसु लिएर स्थानीयहरू आफ्ना वर्षौँ पुराना टहरा छाडेर सुरक्षित स्थानतर्फ लागिरहेका देखिन्छन्।